गौतम बुद्ध क्रिकेट रंगशालामा बागमती सरकारले ७० प्रतिशत बजेट लगानी गर्ने
हेटौंडा–कलाकारद्वय धुर्मुस–सुन्तलीले सुरु गरेर बजेट अभावका कारण अलपत्र अवस्थामा छाडेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट लगानी गर्ने भएको छ ।
प्रदेश सरकारको मंगलबार बसेको बैठकले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पहिलो चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो ।
कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको धुर्मुस–सुन्तली फाउन्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । संघीय सरकारको निर्णयसँगै बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर रंगशालाको बाँकी कामलाई पूर्णता दिने सम्झौता गरेका थिए । रंगशालाको लागत अनुमान गरेर ७० प्रतिशत प्रदेश सरकार र बाँकी ३० प्रतिशत स्थानीय सरकारको रुपमा भरतपुर महानगरले गर्ने समझदारी बनेको थियो ।
सोही समझदारी अनुसार प्रदेश सरकारले मन्त्रीपरिषद्मार्फत सम्झौताको अनुमोदन गर्दै स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश सरकारको निर्णयसँगै रंगशाला निर्माणको कामले गति लिने बताए । उनले प्रदेश सरकारको निर्णयले क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।







