५० प्रतिशत अनुदानमा ३४ वटा ट्याक्टरसहित कृषि सामग्री सहयोग
हेटौंडा–थाहा नगरपालिकाको ८ नम्बर वडामा किसानलाई तरकारीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ स्वीकृत कार्यक्रम अनुसार कृषकलाई यान्त्रिकरण र आधुनिक खेतीतर्फ उन्मुख गराउन कृषि सामग्री वितरण गरिएको हो । आग्रा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानलाई २९ माघमा कृषि सामग्री वितरण गरिएको कृषि शाखाप्रमुख संजय तिवारीले बताए ।
कार्यक्रममा ७ एच.पी. क्षमताको पेट्रोलबाट सञ्चालन हुने ३२ वटा मिनिटिलर, २ वटा डिजलबाट सञ्चालन हुने मिनिटिलर, स्प्रेयर २० थान, ३ सय प्याकेट ह्वाइट टप काउलीको बीउ, ३ सय पाकेट अकवरे खुर्सानीको बीउ, ३ सय किलो बीउ छोप्ने प्लास्टिक, ३ सय मिटर बीउ छोप्ने जाली वितरण गरिएको कृषि शाखाप्रमुख तिवारीले जानकारी दिए । संघीय शसर्त कार्यक्रम निर्देशिका अनुसार सञ्चालन भएकोे तरकारी खेती प्रवद्र्धन कार्यक्रमबाट वडामा पहिलोपटक किसानले अनुदानमा कृषि उपकरण र बीउ पाएपछि उनीहरु खुशी भएका छन् ।
थाहा नगरपालिका प्रमुख विष्णुबहादुर बिष्टले आग्राको मोरिया क्षेत्रलाई तरकारी खेती प्रवद्र्धन गरी विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । त्यसैगरी कृषि शाखाप्रमुख तिवारीले अब परम्परागत कृषि प्रणाली त्यागेर आधुनिक खेतीतर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि यस्ताखालको कार्यक्रम प्रभावकारी हुने बताउदै कृषकको हितमा कार्यगर्न कृषि शाखा सधैं तत्पर रहेको भनाइ राखे । आग्रा कृषि सहकारीका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका आर्थिक विकास समिति संयोजक हिरेन्द्रकुमार रायमाझी, ८ नम्बर वडाअध्यक्ष हेमकुमार थिङ, कृषि विकास अधिकृत विकास विक, पशु प्राविधिक रुपेशकुमार मिश्र, पूर्ववडाअध्यक्ष टीकाराम रुम्बा, वडा जनप्रतिनिधि तथा किसानको उपस्थिति थियो ।







