किसानलाई आधुनिक प्रविधिमा जोड्दै वडा
हेटौंडा–थाहा नगरपालिकाको ३ नम्बर वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसान खुसी भएका छन् ।
थाहा नगरपालिका–३ भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारीबालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताउँछन् । कार्कीले खुल्ला ठाँउमा बीउ राख्दा उमारमा समस्या, उम्रे पनि जोगाउन हम्मेहम्मे हुने बताए । खुल्ला ठाँउमा तरकारी बालीको बीउ राख्न भन्दा टनेलमा निकै सहज हुने अर्का कृषक प्रदीप उप्रेती बताउँछन् । समयको बचतसँगै बीउको उमार र हुकाईका लागि टनेल निकै उपयोगी हुने उप्रेती बताउँछन् ।
तरकारीको बिरुवा उत्पादन गर्नका साथै १२ महिना नै तरकारी उत्पादन हुने भएकोले टनेल निकै प्रभावकारी हुने कृषक दीपक बिष्टले बताए । बिष्टले वडाका कृषकलाई टनेल निर्माणलगायतका कृषिसामग्री सहयोग गरेकोमा वडा कार्यालय र जनप्रतिनिधिलाई धन्यवाद दिए । वडा कार्यालयले ७२ बर्गमिटरको टनेल निर्माणका लागि आवश्यक बाँस र प्लाष्टिक निःशुल्क उपलब्ध गराएको छ भने कृषकले निर्माण र अन्य खर्च गर्नुपर्ने हुन्छ ।
एउटा टनेल निर्माणको लागि आवश्यक पर्ने २० वटा बाँस र टनेललाई प्लाष्टिक वडा कार्यालयले उपलब्ध गराउने वडा सदस्य सबिता सुनारले बताइन् । एक घर एक टनेलको अवधारणाअन्तर्गत वडाका कृषकलाई तरकारीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउन टनेल निर्माणका लागि कृषकलाई प्रोत्सहान गरिएको वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले बताए ।
१ हजार ४६ घरधुरी रहेको ३ नम्बर वडामा कृषकको मागको आधारमा गतवर्ष ४५ वटा टनेल निर्माणको लागि वडा कार्यालयले सहयोग गरेको थियो भने यसवर्ष ९० वटा टनेल निर्माणको लागि सहयोग गरेको छ । वडाको मुख्य पेशा कृषि भएकोले कृषिमा युवालाई आकर्षित गरी ब्यवसायिक बनाउनको लागि टनेल निर्माणमा सहयोग गरिएको र आगामी वर्षमा समेत टनेल निर्माणका लागि सहयोग गरिने अध्यक्ष रायमाझीले बताए । कृषिपेशालाई प्रबिधिमैत्री बनाउन यसवर्ष कृषकको मागको आधारमा ५० प्रतिशत लागत साझेदारीमा ७३ वटा ईलेक्ट्रिक स्प्रेयर पम्प र २१ वटा मिनिटिलर पनि बितरण गरिएको अध्यक्ष रायमाझीले बताए ।







