भैरब आधारभूत विद्यालयको २५ औं भेला

शिक्षा सुधार्न अभिभावकको भूमिका महत्वपूर्ण
साझाकुरा
२०८० चैत्र ३, शनिबार १७:३०

हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरबडाँडास्थित भैरब आधारभूत विद्यालयको २५ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।

भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकको तर्फबाट श्याम सुनार, कृष्ण सुनार, कृष्णमाया विश्वकर्मा र पूजा रुम्बालाई सर्वसम्मतरुपमा चयन गरेको छ । यस्तै विद्यालयको शिक्षक अभिभावक संघमा संयोजक शर्मिला सुनारसहित सदस्यहरुमा अभिभावकमध्ये सुकुमाया गोले, आइतीमाया स्याङ्तान, आत्माराम पुडासैनी, माधव देवकोटा, अनिता मोक्तान, लक्ष्मी रुम्बा, गंगा तिवारी र अम्बिका श्रेष्ठ पाण्डे र शिक्षकतर्फबाट सुमित्र देवकोटा र सुकदेव काफ्लेलाई सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यापक हुद्ध दर्लामीले जानकारी दिनुभयो ।

विव्यस अध्यक्ष श्याम सुनारको अध्यक्षतामा भएको भेला उद्घाटन गर्दै वडा अध्यक्ष सविन न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न स्थानीय अभिभावकहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

‘घर छेउको सामुदायिक विद्यालयमा निःशुल्क नपढाएर आफ्ना सन्तानलाई टाढाको निजी विद्यालय रोज्ने प्रबृत्ति बढेको छ’, वडा अध्यक्ष न्यौपानेले यसबाट सीमित आर्थिक अवस्था भएका अभिभावकहरुले चर्को आर्थिक भार थेग्न बाध्य हुनुपरेको बताए ।

‘आफ्ना सन्तानलाई भैरब आविमै अध्यापन गराउनूहोस्’, अध्यक्ष न्यौपानेले शिक्षकहरुलाई विद्यालयको शैक्षिक अवस्था खस्किन नदिन आग्रह गर्दै भौतिक पूर्वाधारलगायत अन्य आवश्यकता परिपूर्ति गर्न जनप्रतिनिधिहरु तयार रहेको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाईली, वडा सदस्यद्वय रामकृष्ण अधिकारी र मनु दाहाल, विव्यस पूर्वअध्यक्ष केशव देवकोटा, टोल विकास समितिका सम्राट सिलवाल, समाजसेवी शंकर सिलवाल, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले प्रधानाध्यापक दर्लामीद्वारा प्रस्तुत विद्यालयको पूर्व र वर्तमान अवस्था, आव २०७९/८० तथा आव २०८०/०८१ को फागुनसम्मको आयव्यय र भावि नीति तथा कार्यक्रमहरु समेटिएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*