मकवानपुरमा एकैदिन चार ठाउँमा आगलागी, दुईजना पक्राउ

साझाकुरा
२०८१ बैशाख १३, बिहीबार १२:०८

हेटौंडा- मकवानपुरमा बुधबार एकैदिन ४ स्थानमा आगलागी भएको छ । आगो लगाएको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई नियान्त्रणमा लिएको छ । जिल्लाको बागमती गाउँपालिकामा वनमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।बागमतीमा सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार दिउँसो जंगलमा लागेको आगो अकस्मात् बस्तीमा पस्दा बागमती गाउँपालिका–९ ढाडे बस्ने चन्द्रमाया स्याङताङको घरमा आगलागी भइ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्याङताङको २ तले जस्ताले छाएको कच्ची घर कालिश्वर सामुदायिक वनमा लागेको आगो सल्किएर नष्ट भएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको र घरमा रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात क्षति भएको प्रहरीले जनाकारी दिएको छ । इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी, मकवानपुरको बकैया गाउँपालिका पाङधुरेदमार बस्ने दीपक जिम्बाको २ वटा जस्ता र खरले छाएको कच्ची गोठमा आगलागी हुँदा पूर्णरुपमा क्षति भएको छ । प्रहरीका अनुसार नौलो हरियाली सामुदायिक बनमा लागेको डडेलोबाट जिम्बाको गोठमा आगो सल्कन गई आगोलागी भएको थियो । प्रहरीचौकी हात्तिसुँडेको टोली, स्थानीयबासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहायतामा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको छ । आगोलागीबाट २ वटा गोठ पूर्णरुपमा जली नष्ट हुनुका साथै २ वटा बाख्रा मरेका छन् । यसैगरी एउटा बाख्रा घाईते भएको तर, मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यस्तै, बुधबार नै मकवानपुरको कैलाश गाउँपालिका–४ झ्याँगेस्थित स्थानीय नवराज न्यौपानेको गोठमा बारीमा बालेको आगोबाट सल्कन गई आगोलागी हुँदा आंशिक क्षति भएको छ । यसका साथै घरमा समेत आगलागी भई क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीचौकी भार्ताबाट खटिएको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

बुधबार नै मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित पवलीभन्ज्याङ सामुदायिक वनमा लगाइएको आगोबाट स्थानीय रामबहादुर घिसिङको माटो ढुंगा, टिनले छाएको २ तले घरको अगाडिको भाग काठको बार्दली , झ्याल, ढोका, मकै ५ मुरी, तोरी ३ मुरी, फापर १ मुरी, डिएपिमल २ बोरा र भाँडाकुँडा जली क्षति भएको छ । साथै स्थानीय रामचन्द्र घिसिङको शौचालय समेत आगलागीमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीय २० वर्षीय अर्जुन बल तामाङ र ३८ वर्षीय सोमबहादुर घिसिङले लगाएको प्रहरीले जनाएको छ । २ जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*