खानेपानी र सिंचाइतर्फका २० सव–इन्जिनियरको पदस्थापन
हेटौंडा- बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय मातहतका कार्यालयमा २० जना सब–इन्जिनियरको पदस्थापन भएको छ ।बागमती प्रदेश लोकसेवा आयोगबाट उत्तीर्ण भइ सिफारिस भएका २० जना सहायकस्तर पाँचौ तहका सब–इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाई कार्यालयमा पदस्थापन गरिएको हो । नवनियुक्त सव–इन्जिनियरलाई मन्त्री एकालाल श्रेष्ठले जनताले महशुस गर्नेगरी सेवाप्रदान गर्न निर्देशन दिए । श्रेष्ठले दरबन्दीअनुसारको कर्मचारी अझै अभाव रहेको बताउँदै अहिलेको पदस्थापनले केही राहत मिलेको उल्लेख गरे ।
पदस्थापित सबै सब–इन्जिनियरलाई जिल्ला प्रमुख र डिभिजन प्रमुखले आवश्यकताको आधारमा खटाएको क्षेत्रमा गएर इमान्दारीपूर्वक परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । मन्त्रालयका सचिव इन्द्रदेव भट्टले नवनियुक्त सब–इन्जिनियरलाई सपथग्रहण र नियुक्तिपत्र प्रदान गरेका थिए । यसैगरी, नवौं तहमा सरुवा भएर मन्त्रालय आएका प्रशासनतर्फ रामप्रसाद भुषाललाई मन्त्रालयले स्वागत गरेको थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई महाशाखा प्रमुख रविन श्रेष्ठ, जलस्रोत तथा सिंचाइ महाशाखा प्रमुख मेघराज अवस्थी, लेखाप्रमुख गोविन्द अधिकारी, प्रशासन अधिकृत तीर्थ घिमिरेलगायतको उपस्थिति रहेको थियो ।







