सहकारी व्यवस्थापकलाई क्षमता विकास तालिम
हेटौंडा-राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ संस्थाका ब्यवस्थापकको २ दिने क्षमता विकास तालिम सोमबार सुरु भएको छ ।राष्ट्रिय सहकारी बैंकका संचालक एवम् बागमती प्रदेश संयोजक रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रम बैंकका हेटौंडा शाखा संयोजक नारायणप्रसाद देबकोटाको अध्यक्षतामा भएको थियो । हेटौंडाको रोयल प्यालेसमा सुरु भएको तालिममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभ तिमिल्सिना र झलेन्द्र दाहालले सहजीकरण गरेका छन् ।
बैंकको एनसिबिएल सदस्यशिक्षा कार्यक्रम २०८०÷८१ अन्तर्गत २ दिने ‘व्यवस्थापकको क्षमता विकास’ तालिम संचालन गरिएको राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेशप्रमुख रामेश्वर अर्यालले बताए । तालिममा मकवानपुरका सहकारी संघसंस्थाका ४१ जना ब्यवस्थापकको सहभागिता रहेको छ ।







