सहिद बासुदेवको प्रतिमा प्रहरी कार्यालयमै थन्कियो

साझाकुरा
२०८१ बैशाख १९, बुधबार ०९:४९

हेटौंडा- दोस्रो जनआन्दोलनका सहिद बासुदेव घिमिरेको अर्धकदको प्रतिमा प्रहरी कार्यालयमा बेवारिसे अवस्थामा थन्किएको छ । मकवानपुरगढी गाउँपालिका–५, आमभञ्याङस्थित अस्थायी प्रहरीचौकी धादिङको फोहोर व्यवस्थापन कक्षमा सहिद बासुदेवको प्रतिमा वर्षौँदेखि अलपत्र अवस्थामा फेला परेको हो ।गणतन्त्र स्थापनाका लागि बलिदान दिएका सहिद घिमिरेको प्रतिमा स्थापना गर्नुको सट्टा प्रहरीचौकीको फोहोर व्यवस्थापन कक्षमा वर्षौँदेखि फ्याँकिएको अवस्थामा फेला परेपछि उनका परिवारले गुनासो गरेका छन् । सहिद पिता कृष्ण घिमिरेले राष्ट्र र जनताका लागि छोराले दिएको बलिदानीको बदलामा राज्यले सम्मान गर्नुको सट्टा उल्टै अपहेलना गरेको भन्दै दुखेसो पोखे ।

मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा सहिद बासुदेवको प्रतिमा स्थापनाका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरी काम अघि बढाएको थियो । तत्कालीन समयमा बासुदेव स्मृति प्रतिष्ठान स्थापना गरी स्थानीय बेदनाथ हुमागाईंको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन गरी यो कार्य अघि बढाइएको थियो । तर, पालिका र उपभोक्ता समितिले विभिन्न समस्या सहिद प्रतिमा स्थापनाको काम सम्पन्न गर्न नसकेको स्थानीय बताउँछन् ।

२०७८ सालमै सहिद प्रतिमा बनाएर उपभोक्ता समितिको जिम्मा लगाएका मूर्तिकारले लाखौँ रकमको भुक्तानी हालसम्म पनि पाएका छैनन् । मकवानपुरगढी–५ का वडाध्यक्ष दीपेश दाहालले चाँडै सहिद बासुदेवको अलपत्र अवस्थामा रहेको प्रतिमा स्थापना गर्ने प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*