पत्रकार महासंघको साधारणसभा, दुई जना पुरस्कृत
हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औं साधारणसभा तथा १२ औं अधिवेशन बुधवार हेटौंडामा आयोजना भएको छ ।हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा साधारणसभा र अधिवेशन भएको हो । मेयर लामाले राष्ट्रको स्वाधिनता, राष्ट्रियता र मानव अधिकारको प्रत्याभूति तुल्याउन व्यवसायिक पत्रकारिता क्षेत्रलाई अब जवाफदेही बनाउनु पर्नेमा जोड दिएकी छन् । स्थानीय निकायले गर्दै आएको आफ्नो भूमिकालाई अझ प्रभावकारी ढंगबाट जनहितमा परिचालन गर्न पत्रकार महासंघको सुझाव र सल्लाह स्थानीय निकायलाई आवश्यक रहेको उनको भनाइ छ ।
मेयर लामाले संचारकर्मीहरुले जिल्लामा रहँदा स्थानीय निकायमा रहेको पर्यटन, धार्मिक स्थल, खानेपानी, स्वास्थ्य उपचार सेवालगायत दलित बस्तीमा भइरहेका विभेदहरुलाई संचारमाध्यमहरुले समाचारलाई प्राथमिकता दिँदा ती क्षेत्रका जनताहरुले स्थानीय निकायबाट पाउने स्रोतसाधनबाट आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने बताइन् ।कार्यक्रममा पत्रकार महासंघको केन्द्रीय सचिव श्रृजना अर्याल, महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमतीका अध्यक्ष शिव प्रसाद देवकोटा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुरको अध्यक्ष अञ्जली थापा, एकीकृत समाजवादी पार्टी निकट पत्रकार संघ अध्यक्ष शिव चौलागाईँलगायत पत्रकार महासंघका पूर्वअध्यक्षहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
साधारणसभाको बन्द सत्रमा महासंघका सचिव शुभलक्ष्मी विश्वकर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष केशव सर्मपण सुबेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ । साधारणसभाबाट ज्येष्ठ पत्रकार पेन्सन कोषलाई संशोधन गर्ने निर्णय पनि भएको छ ।महासंघको विधानमा व्यवस्था भएअनुसार साधारणसभा भएको ३० दिनभित्र अधिवेशन अन्तर्गत् निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुने व्यवस्था छ । २१ वैशाखमा काठमाडौंमा महासंघ केन्द्रको साधारणसभा रहेको र केन्द्रीय समितिले हालसम्म निर्वाचन कार्यक्रम घोषणा गरिसकेको छैन । महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार जिल्ला, प्रदेश र केन्द्रको एकैपटक निर्वाचन हुनेछ ।
मकवानपुरका दुई पत्रकारलाई पुरस्कार प्रदानपत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । पत्रकारद्वय सरिता दाहाल र नवराज शर्मा तिमल्सिना महासंघबाट पुरस्कृत भएका हुन् ।महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठ स्मृति पुरस्कारबाट दाहाललाई र बोर्नबहादुर र पार्वती राउत स्मृति पुरस्कारबाट तिमल्सिनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रसंशापत्र प्रदान गरिएको हो ।उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा र विशेष अतिथि पत्रकार महासंघको केन्द्रीय सचिव श्रृजना अर्यालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।







