बागमती खेलकुद परिषद्का १० सदस्यले लिए सपथ
हेटौंडा- बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त १० जना सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।सामाजिक विकास मन्त्रालयमा आयोजित समारोहमा सदस्य रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनियाँ (चितवन), कल्पना खड्का (रामेछाप)ले नियुक्त भएको डेढ महिनापछि आज बिहीवार सपथ लिएका हुन् । उनीहरुलाई गत १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।परिषद्को रिक्त ६ जना सदस्यलाई गत मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेपछि एकैपटक १० जनाको सपथ गराइएको हो । गत मंगलबार नियुक्त सदस्य सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले सपथ लिएको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए ।
परिषद्को सदस्यसचिवमा नुवाकोटका दीपक लामालाई २६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । विभागीय मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय रहेपनि प्रदेश खेलकुद विकास परिषद्सँग सम्बन्धित कानुन संशोधन नभएकाले परिषद्को पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी क्षेत्राधिकार सामाजिक विकास मन्त्रालयसँग छ । २ जेठ २०८१ मा यसअघिका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय गठन गरेका थिए । प्रदेश खेलकुद विकास ऐन २०७५ को अध्यक्ष विभागीय मन्त्री हुने व्यवस्था छ ।
सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामालगायतले सदस्यहरुलाई सपथ गराए । कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदानगरेका व्यक्तिलाई परिषद्को सदस्यमा मनोनित गरिएको भन्दै यसले बागमती प्रदेशको समग्र खेलकुदक्षेत्रको विकासमा महत्वपूर्ण सहयोग मिल्ने बताए । सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवद्र्वन र खेलाडीको हितका लागि काम गर्न सुझाव दिइन् ।
कार्यक्रममा मुख्यमन्त्री बहादुरसिं लामाका राजनीतिक सल्लाहकार विनोद शाह, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्रीबहादुर पाठक, खेलकुद मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख सूर्य दाहाल लगायतको उपस्थिति रहेको थियो ।







