अनुपम घलान स्मृति यू–१६ फुटबलको उपाधि १५ नम्बरलाई
हेटौंडा-नगर खेलकुद विकास समिति हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सञ्चालन भएको पहिलो संकरणको अनुपम घलान स्मृति नगरस्तरीय यू–१६ फुटबलप्रतियोगिता २०८१ को उपाधि हेटौंडाको १५ नम्बर वडाले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा १८ नम्बरलाई सडनडेथमा निराश बनाउँदै १५ ले उपाधि जितेको हो । विजेता १५ ले नगद एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता भएको १८ ले ७० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथ मार्फत् निर्णय लिइएको हा ।
सेमिफाइनलमा १५ ले ८ लाई र १८ ले ९ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा–१५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक समेत घोषित भए । उत्कृष्ट डिफेण्डर १५ का नवीन लो, मिडफिल्डर १८ का साजन लोप्चन, फरवार्ड १५ का रेहान घलान र उत्कृष्ट प्रशिक्षक हेटौंडा–१५ का उज्ज्वल वाइबा घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडा–१८ का अभिराज थापामगर भए । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र बाँकी विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौंडाका १९ मध्ये १० वडाको सहभागिता रहेको थियो ।
नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा एन्फा एकेडेमी सिस्नेरीको पहिरोमा परेर निधन भएको थियो । उनकै स्मृतिमा हेटौंडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी यस वर्षबाट प्रतियोगिता सुरु गरिएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको समापनमा हेटौंडा उपमहानगरका कार्यबाहक नगरप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा–८ नम्बर वडाअध्यक्ष रामकृष्ण थापा, प्रतियोगिता संयोजक सुनिल लोप्चनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ५ नम्बर वडाअध्यक्ष सुशील घिमिरे, ७ नम्बर अध्यक्ष दामेदर गौतम, १८ नम्बर अध्यक्ष अनिल बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।







