राष्ट्रपति रनिङशिल्डको उपाधि हेटौंडा उपमहानगरको पोल्टामा
हेटौंडा, २० फागुन÷१५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि हेटौंडा उपमहानगरपालिकाको टिमले जितेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा आइतबारबाट सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि हेटौंडाले जितेको हो । हेटौंडाले १५ स्वर्ण, १० रजत र ९ कास्यपदक प्राप्त गरेको छ । यस्तै १३ स्वर्ण, ५
रजत र १० कास्यपदक प्राप्त गर्दै बकैया गाउँपालिका द्वितीय भएको छ भने तृतीय भएको थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कास्यपदक प्राप्त गरेको छ । बागमती गाउँपालिकाको टिमले ६ स्वर्ण, १७ रजत र १७ कास्यपदक प्राप्त गरेको छ ।
प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कवडीलगायतका खेलहरु सञ्चालन भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कास्यपदकसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार पुरस्कार वितरण भएको हो । समापन समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य संगीत श्रेष्ठ, जिल्ला खेलकुद कार्यालयप्रमुख माधव कोइराला, सदस्य मदन उप्रेती, बागमती गाउँपालिका, बकैया गाउँपालिका खेलकुद अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।







