मकवानपुर गोल्डकप नहुने पक्कापक्की

हेटौंडा-मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष नहुने भएको छ । प्रायः सबै जिल्लाका गोल्डकप सम्पन्न भैसक्दा मकवानपुर गोल्डकप भने यसवर्ष नहुने पक्कापक्कीभएको हो । जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गर्दै आएको गोल्डकप यो वर्ष अनिश्चित बनेको हो । यो वर्षको अन्तिम गोल्डकपका रुपमा अहिले रुपन्देहीमा तिलोत्तमा गोल्डकप सञ्चालन भइरहेको छ । त्यसपछि यही १६ गतेबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सुरु हुनेछ । करिब एक महिना एनएसएल चल्ने भएकोले त्यो समयमा गोल्डकप गर्न सम्भावना छैन ।
कतैबाट ठूलै रकमको आर्थिक जोहो गर्न सकिन्छ कि भनेर आन्तरिकरुपमा लागिपरेका फुटबल संघका पदाधिकारीले अहिलेसम्म स्रोतको फेला पार्न सकेको छैन । गोल्डकपको कुनै तयारीसमेत नभएकोले यसवर्ष प्रतियोगिता नहुने करिब पक्कापक्की जस्तै रहेको छ । छैटौं संस्करणको मकवानपुर गोल्डकप सम्पन्न भएको करिब १४ महिना हुन लाग्दा आयोजकले अहिलेसम्म प्रतियोगिताको हरहिसाब समेत सार्वजनिक गर्न सकेको छैन । गोल्डकपको तिरोतारो अझै बाँकी रहेको पाइएको छ ।
गतवर्ष माघ २७ गते छैटौं संस्करणको गोल्डकप सम्पन्न गरेको थियो । संघका जिल्ला अध्यक्ष टीकाराम लामा, उपाध्यक्ष युवराज लामा र कोषाध्यक्ष अमृत लुङ्बा लगायतका पदाधिकारी प्रतियोगिताको नामै परिवर्तन गरेर भए पनि गोल्डकपलाई निरन्तरता दिने उद्देश्यसहित सम्भावित स्रोत खोज्न लागिपरेका थिए । यद्यपि संघका अध्यक्ष लामाले एनएसएलपछि गोल्डकप हुनसक्ने बताउँदै आएका छन् ।
सुरुवाती वर्षमा मकवानपुरका स्थानीय तहले यस प्रतियोगिताका लागि २ देखि ५ लाख रुपैयाँसम्म बजेट छुट्याउने गरेको भएपनि पछि ‘उपलब्धिविहीन’ भन्दै बजेट कटौती गर्दै गएका थिए ।
अघिल्लो वर्षको गोल्डकपका लागि हेटौंडा उपमहानगरबाहेक अन्य स्थानीय तहले खासै बजेट उपलब्ध गराएनन् । अघिल्लो गोल्डकपको हिसाबसमेत सार्वजनिक गर्न नसकेको भन्दै फुटबल संघकै पदाधिकारी असन्तुष्ट हुँदै आएका छन् । छैटौं संस्करणको मकवानपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको थियो ।