हेटौंडा–६ स्थित गौरीटार फुटबल रंगशालाको उद्घाटन
हेटौंडा- हेटौंडा–६ स्थित गौरीटार फुटबल रंगशालाको उद्घाटन गरिएको छ । बुधबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच मुख्यमन्त्री बहादुरसिंह लामाले रंगशालाको उद्घाटन गरेका हुन् । गौरीटारमा १४ करोड रुपैयाँको लगानीमा फुटबल रंगशाला निर्माण गरिएको हो । उद्घाटनमा मुख्यमन्त्री लामाले रंगशालालाई व्यवस्थित गदै खेलाडी प्रशिक्षणस्थलको रुपमा विकास गर्नुपर्ने बताए । खेलुकद नियम कानुन मान्ने एउटा विधि पनि भएकोले खेलसंग भावनात्मक सम्बन्ध जोडिएको उनको भनाई छ । मुख्यमन्त्री लामाले क्रिस्टियानो रोनाल्डो, पेलेको उदाहरण दिंदै खेलाडीले राष्ट्रलाई अन्र्तराष्ट्रिय जगतमै चिनाउने बताए । फुटबल रंगशालाबाट उत्पादन भएको खेलाडीले प्रदेशको नाम मात्र नभई देशकै नाम राख्न सक्नुपर्ने उनको भनाई छ ।
सामाजिक विकास मन्त्रालयमार्फत निर्मित रंगशालामा २८ सय ५० क्षमताको प्यारापिट निर्माण भएको छ । गौरीटाररंगशालामा अहिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला र पौडीपोखरी खेलका पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेका छन् । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार प्रदेश सरकारको २० करोड रुपैयाँ लगानीमा पौडीपोखरी र क्रिकेट रंगशालाको संरचना निर्माण तीव्रगतिमा भइरहेको छ । आगामी असारसम्म निर्माण सम्पन्न गर्ने गरी दुईवटा ठूला साना पौडीपोखरी निर्माणकार्य अन्तिमचरणमा पुगेको छ ।
८ करोड ६२ लाख ६१ हजारमा स्विमिङ पुल निर्माणका लागि प्रदेश सरकारले पीएम–एसकेसी जेभी कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेको थियो । यस्तै, क्रिकेटमैदान निर्माणका लागि एसएसपी–एचकेसी जेभीले ११ करोड ७४ लाखमा सम्झौता गरेको थियो । क्रिकेट रंगशालाको पहिलोचरणमा ११ करोड ७४ लाख रुपैयाँको लगानीमा मैदान र प्यारापिट निर्माण गरिएको छ । ग्राउण्डमा दुबो लगाउने काम बाँकी रहेको छ भने पिच, स्कोरबोर्ड, भिभिआइपी कक्ष, खेलाडी चेंजिङ रुम, ब्रोडकास्टिङ र मिडिया कक्षजस्ता संरचना निर्माणको योजना रहेको छ ।







