महिला गोल्डकपः टाइब्रेकरमा रौतहट स्तब्ध, पुलिस अन्तिम ४ मा

साझाकुरा
२०८२ बैशाख २२, सोमबार ०८:०२

हेटौंडा- विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिए पछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । पुलिसको तर्फबाट टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरिन् । गिमकुमारी गुरुङको प्रहार बाहिरिएको थियो ।

त्यसैगरी रौतहटका लागि सविना चौधरी र सलोनी रानाले गोल गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सुरक्षित गरिन् । पुलिसकी गोलरक्षक नाथ प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । योसँगै पुलिस गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । पुलिसले सेमिफाइनलमा चितवनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि आयोजक मकवानपुरलाई हराउँदै चितवन सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।प्रतियोगितामा सोमबार एपिएफ र वीरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फाइनल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो खेल ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*