महिला गोल्डपको उपाधिको लागि पुलिस र एपीएफ भिड्ने

साझाकुरा
२०८२ बैशाख २४, बुधबार ०८:४९

हेटौंडा- हेटौंडामा जारी राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको लागि विभागीय टोलीहरु नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेभएको छ ।हेटौंडा–६ स्थित गौरीटार रंगशालामा मंगलबार भएको दोश्रो सेमिफाइनल खेलमा ए डिभिजन क्लब संकटालाई २–० ले पराजित गर्दै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफको जीतमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसीले खेलको ७६ औं मिनेटमा गोल गरिन् । रश्मिले कप्तान अनिता बस्नेतको कोनप्रहारलाई हेड मार्फत र केसीले पनि बस्नेतकै असिष्टमा गोल गरेकी हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसको जितमा मीना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरे । देउवाले खेलको २१ औँ, ४० औँ र ५९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने उपाध्यायले ३४, ६६ र ८० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।पुलिसको लागि थप एक गोल ४५ औँ मिनेटमा सुष्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दी म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको फाइनल खेल वैशाख २५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*