पालिकास्तरीय महिला भलिबल प्रतियोगिता हुने

साझाकुरा
२०८२ जेष्ठ १, बुधबार ११:५१

हेटौंडा-जेठ ४ गतेबाट हेटौंडामा पालिकास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले जिल्ला भलिबल संघसँगको सहकार्यमा पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । जेठ ४ देखि ६ गतेसम्म हेटौंडाको हुप्रचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठानका महासचिव समेत रहेका भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए । प्रतियोगिता मकवानपुरका १० पालिकाको महिला खेलाडीले सहभागिता जनाउनेछन् । लिगकम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक पालिकाले जिल्ला बाहिरका २ खेलाडी सहभागी गराउन पाउनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ८० हजार र सेमिफाइनलमा पुग्ने अर्को दुइ टिमले समान ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । पालिकास्तरीय भलिबल प्रतियोगिताको लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले बताएको छ ।

‘स्वर्गीय केशवलाल श्रेष्ठको स्मृतिमा स्थापना भएको यस प्रतिष्ठानले विशेषगरी भलिबलका विभिन्न गतिविधि गर्दै आएको छ’, प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले भने, ‘जिल्लामा महिला खेलाडीको उत्पादनसँगै खेलाडी छनोट, भातृत्वको सम्बन्ध स्थापना र खेलकुदको विकासका निम्ति अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हौं । यसको तयारीलाई तीव्र बनाइएको छ ।’ प्रतियोगिताका लागि राजु घलेको संयोजकत्वमा समिति निर्माण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*