आधारभूत फुटबल रेफ्री तालिम सुरु

साझाकुरा
२०८२ असार ७, शनिबार ०८:२३

हेटौंडा- बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडामा आधारभूत फुटबल रेफ्री तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले शुक्रबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिन् । हेटौंडा–६ गौरीटारमा एक सातासम्म चल्ने तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट ३ महिला सहित ४१ जनाको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा नगरप्रमुख लामाले हेटौंडालाई खेलकुदमय उपमहानगर बनाउन लागिरहेको बताइन् ।

पछिल्लो समय हेटौंडामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता उल्लेख्य मात्रामा भइरहेको दाबी गर्दै हेटौंडाबाट खेलाडी उत्पादनका लागि खेलकुदका गतिविधि सञ्चालन भइरहेको उनले बताइन् । युवा र खेलक्षेत्रलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको उनको दाबी थियो । नेपालमा भविष्य छैन भनेर विदेशिने क्रम बढिरहेको अवस्थामा युवा जनशक्तिले नेपालमै सम्भावना देखेर तालिममा सहभागी हुनु प्रशंसनीय रहेको नगरप्रमुख लामाले बताइन् ।

रेफ्रीको भूमिका महत्वपूर्ण हुनुका साथै चुनौतीपूर्ण पनि हुने उनको धारणा थियो । नगरप्रमुख लामाले राज्यका हरेक अ·हरु मर्यादित र विधिवत्रुपमा चल्नुपर्नेमा जोड दिइन् । तालिममा सहभागीलाई फुटबलका नियम, रेफ्रीको भूमिका, खेल व्यवस्थापन, संकेत, सञ्चार, शारीरिक तन्दुरुस्ती लगायत विषयमा प्रशिक्षण दिइने बताइएको छ ।प्रशिक्षक सचिन अमात्य, बीरेन्द्र पाण्डे, रोजिन श्रेष्ठ र कल्पना शर्माद्वारा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

तालिम संयोजक अमृत लुङबाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, फुटबल महासंघ बागमतीका महासचिव लवराज ठकुरीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*