गोलनेपालकर्मी बानियाँ राष्ट्रिय पुरस्कारबाट सम्मानित

हेटौंडा-युवा तथा खेलकुद मन्त्रालयले वार्षिकरुपमा प्रदान गर्दै आएको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट गोलनेपालकर्मी बिक्रमकुमार बानियाँ पनि पुरस्कृत र सम्मानित भएका छन् । बानियाँलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मानित गरेका हुन् । खेलकुद मन्त्रालयको पुरस्कार मूल्यांकन समितिले मूल्यांकन गरी १० खेलकुद पत्रकारलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।
१० जनाको सूचीमा बागमती प्रदेशबाट बानियाँ छनोटमा परेका थिए ।मकवानपुरको स्थानीय फुटबलदेखि घरेलु फुटबलको शीर्ष लिग ‘ए डिभिजन’ लिगतर्फ खेलाडीका रुपमा लामो समय बिताएका बानियाँ पछिल्लो एकदशक यता गोलनेपालको सहसम्पादक तथा बागमती प्रदेश ब्युरो प्रमुखका रुपमा खेलपत्रकारितामा सक्रिय छन् खेलपत्रकारिकताकै क्रममा देशका विभिन्न जिल्ला तथा दुबई, मलेसियालगायत देशमा फिफा वल्डकपको रिापोर्टिङ गर्न पुगेका बानियाँले पछिल्लोपटक सन् २०२३ मा साउदी अरेबियामा सम्पन्न भएको फिफा क्लब विश्वकपमा गोलनेपालको प्रतिनिधिका रुपमा सहभागी भएर रिर्पोर्टिङ गरेका थिए ।
लामो समयदेखि फुटबलमै समर्पित बानियाँले यो नेपाल सरकारको प्रतिष्ठित खेलकुद पत्रकार प्रोत्साहन सम्मान पाउनु भनेको आफ्नो लागि गौरवसँगै सौभाग्यको कुरा भएको बताएका छन् । यो सम्मानले आफूलाई आउने दिनमा खेलकुद पत्रकारितामा थप रचनात्मक काम गर्न हौसला मिल्ने उनले साझाकुरासँग प्रतिक्रिया दिए ।