सीपयुक्त र प्रभावकारी शिक्षक उत्पादन गर्दै म्यानेजमेन्ट

कोर्षबाहेक हप्ताको दुईदिन विशेषज्ञ शिक्षकबाट परामर्श गराइने
साझाकुरा
२०८२ श्रावण ३, शुक्रबार ०८:५८

हेटौंडा- हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षा संकायमा विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने भएको छ । यस विशेष कार्यक्रम मार्फत सीपयुक्त र प्रभावकारी शिक्षक उत्पादन गर्ने उद्देश्य राखिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । म्यानेजमेन्टको नेतृत्वमा नवोदय शिशुसदन र नवोदय इनोभेशन सेन्टरको सहकार्यमा कक्षा ११ र १२ मा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । यसका लागि म्यानेजमेन्टले सम्पूर्ण नेतृत्व गर्नेछ भने नवोदय शिशुसदनले स्कुल ल्यावको भूमिका निर्वाह गर्नेछ । नवोदय इनोभेशनले प्रशिक्षार्थी शिक्षकलाई शैक्षिकपरामर्श तथा मार्गदर्शन प्रदान गर्ने बताइएको छ ।

निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत अंग्रेजी, नेपाली, विज्ञान र गणित विषयमा कुल ३० जना विद्यार्थीलाई अध्यापन गराइने योजना रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले बताएका छन् । हालसम्म १२ जना विद्यार्थीले यसका लागि भर्ना हुन फारम भरिसकेका छन् । कक्षा सञ्चालन श्रावण ११ गतेदेखि सुरु हुनेछ । बिहान ४ घण्टाको शैक्षिक कार्यक्रममा दैनिक दुई विषयको अध्ययन हुनेछ । हरेक शुक्रबार पुस्तक परिचर्चा, शिक्षासंवाद जस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

यसबाट विद्यार्थीमा भाषा सीप, आलोचनात्मक प्रश्न सोध्ने क्षमता र शिक्षण रुचि विकास हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी विद्यार्थीले कोर्षबाहेक हप्ताको दुईदिन विशेषज्ञ शिक्षकबाट परामर्श पाउनेछन् । यो समयमा विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिएको प्रिन्सिपल जोशीले जानकारी दिए । नियमितरुपमा कक्षामा उपस्थित हुने विद्यार्थीलाई प्रतिमहिना एक हजार रुपैयाँ पकेटखर्च पनि प्रदान गरिनेछ ।

प्रशिक्षार्थी विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन प्रत्येक हप्ता दुई वा तीनदिन तालिम, टिचिङ बुट क्याम्प, कार्यशाला र प्रशिक्षण जस्ता गतिविधि सञ्चालन हुनेछन् । यसका साथै विद्यार्थीको आवश्यकता र क्षमताका आधारमा उपयुक्त रोजगारीको व्यवस्था गरिने बताइएको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ३९ जना विद्यार्थीलाई मेडिकल तयारी कक्षामा पनि निःशुल्क अध्यापन गराइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*