कोरा साइकलः नकर्मी उत्कृष्ट राइडर घोषित

साझाकुरा
२०८२ श्रावण ५, आईतवार १०:१०

हेटौंडा-आठौं संस्करणको हेटौँडा कोरा–२०२५ साइकल च्यालेन्जमा रविकृष्ण नकर्मी उत्कृष्ट राइडर घोषित भएका छन् । हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार कोरा च्यालेन्ज सम्पन्न भएको हो । कोरामा सहभागी ३ सय २५ जना साइकलिस्टमध्ये नकर्मी उत्कृष्ट राइडर घोषित भएका हुन् । कोरा राइडमा ४० जना महिला सहभागी थिए ।शनिबार बिहान हेटौंडा–४ स्थित भुवनेश्वर महादेव मन्दिर परिसरबाट सुरु भएको साइकल यात्रा उपमहानगरका विभिन्न धार्मिक स्थलको परिक्रमा गरी बजारको बुद्धचोकमा समापन भएको हो ।

कोराको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले गरेका थिए । भुवनेश्वर महादेव मन्दिरबाट सुरु भएको साइकल यात्रा भुटनदेवी मन्दिर, हेटौंडा–२ स्थित जलेश्वर मन्दिर, हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिर हुँदै विभिन्न स्थानमा साइकलयात्रा तय गरिएको थियो । जलेश्वर महादेव मन्दिर परिसरमा खैँजेडी भजन समूहले साइकल यात्रीलाई स्वागत गरेका थिए । हेटौंडा–१५, भोर्लेस्थित आधारभूत विद्यालय परिसरमा खानाको कार्यक्रम रहेको थियो । वडा कार्यालयले नै खानाको व्यवस्थापन गरेको आयोजक क्लबले जनाएको छ ।

आधारभूत विद्यालय परिसरमा स्लो राइड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा राजिप ठाकुर प्रथम, जतन रसाइली दोस्रो र रेनिस श्रेष्ठ तेस्रो भए । उनीहरुलाई लक्ष्मण साइकल स्टोर्सको सौजन्यमा क्रमशः हेल्मेट, ग्लोब्स र एलेन्की पुरस्कारस्वरुप प्रदान गरिएको थियो । कोरा राइडमा सहभागी २ जना ज्येष्ठ र एकजना कान्छा राइडरलाई निको अस्पतालले निःशुल्क मुटु स्वास्थ्यपरीक्षण गराउने घोषणागरेको छ ।

सन् २०१८ देखि आयोजना हुँदै आएको यो कार्यक्रमको उद्देश्य सहरलाई साइकलसँग जोड्नु र स्थानीय तीर्थस्थल र वस्तीहरुको पहिचान गराउनु रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताएका छन् । जिल्ला बाहिरबाट चितवन, पर्सा, बारा, काठमाडौं लगायतबाट पनि सहभागी आएकोले हेटौंडाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*