निर्यात व्यापारमा सुधार
एकदसक अघिसम्म मकवानपुरबाट बर्षेनी ३÷४ अर्ब रुपैयाँको भारत तथा तेस्रो मुलुकमा ब्यापार हुने गरेको थियो । भदौमा च्याउ उम्रेको जस्तै राप्तीको दायाँवायाँ खुलेका क्रसरले गिट्टीबालुवा भारत निर्यात गरिरहेको थियो । हेटौंडा औद्योगिक क्षेत्रमा रहेका आधा दर्जन बहुराष्ट्रिय कम्पनीले पनि निर्यात ब्यापार गरिरहेका थिए । २०७२ को बिनाशकारी भूकम्प र त्यसलगत्तै भातीय नाकाबन्दीले नेपालको निर्यात ब्यापारलाई धरासायी बन्दै गएको हो ।
मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गत आर्थिक वर्षमा भने झिनो अंकले वृद्धि भएको छ । यसमा ज्यादै हौसिनु आवश्यक भने छैन । आर्थिक वर्ष २०८०÷८१ को अनुपातमा गत आर्थिक वर्ष २०८१÷८२ मा निर्यातमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा मकवानपुरबाट निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी ४० करोड ४२ लाख ७९ हजार ९४३ रुपैयाँ बराबरको निर्यात गरेको उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा ३५ करोड ४५ लाख ७४ हजार छ सय रुपैयाँ बराबरको निर्यात भएको थियो । संघका अनुसार गत आवमा भएको निर्यात आव २०७८÷७९ मा भन्दा कम हो । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको थियो । संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्ने सरकारको नीतिको अभावमा निर्यात व्यापार अपेक्षाअनुसार नबढेको बताएका छन् । उनले लगानीमैत्री वातावरण बनाएर निर्यात व्यापार वृद्धि गर्न निर्यातजन्य उद्योगलाई सरकारले थप सुविधा दिनुपर्नेमा जोड दिए ।
आर्थिक वर्ष २०७९÷८० मा मकवानपुरका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले एक अर्ब १५ करोड २१ लाख ६० हजार ५६६ रुपैयाँ बराबरको निर्यात गरेका थिए । संघका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा यस जिल्लाबाट उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी एक अर्ब ५५ करोड ५६ लाख ८० हजार १२९ रुपैयाँ बराबरको निर्यात गरेका थिए । गत आर्थिक वर्षमा मकवानपुरबाट थप दुई उद्योगले निर्यात गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा छ वटा उद्योगले निर्यात गरेमा गत आवमा आठ वटा उद्योगले आफ्नो उत्पादन निर्यात गरेका हुन् ।
बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड र सिद्धिश्री इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन निर्यात गरेका हुन् । युनिलिभर नेपाल लिमिटेडले लामो समयको अन्तरालपछि आफ्नो उत्पादन भारत निकासी गरेको हो । बिर्को निर्यात गर्दै आएको प्याक्ट ग्रुप क्लोजर सिस्टम इन्टरनेसनल (नेपाल) प्रालिको यस जिल्लाबाट हुने निर्यातमा ठुलो हिस्सा रहेको छ । भारतसहित तेस्रो मुलुक फिजी र अस्ट्रेलियामा निर्यात गर्दै आएको उद्योगले गत आर्थिंक वर्ष ३२ करोड ५४ लाख एक हजार ७१५ रुपैयाँ बराबरको निकासी गरेको संघले जनाएको छ ।
प्याक्ट ग्रुप क्लोजरपछि नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि र इभान्स लाइफ साइन्सेस प्रालिको निर्यात व्यापारमा बढी योगदान रहेको छ । नेपाल इकरातले ट्रान्सफर्मर र इभान्स लाइफ साइन्सेसले लोठसल्लाको पाउडर निकासी गर्दै आएको छ । अघिल्लो आर्थिक वर्ष भारत निर्यात गरेको खजुरीको नेपाल प्रालिले गत आर्थिक वर्ष निकासी गरेन । भारत, अस्ट्रेलिया, फिजी, बंगलादेश, भुटान र संयुक्त अरब इमिरेट्समा गत आवमा निकासी भएपनि सबैभन्दा बढी भारततर्फ निर्यात भएको संघको तथ्यांक छ ।
आर्थिक वर्ष २०७८÷७९ मा एक व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्यपदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेका थिए । संघले सिराहा जिल्लामा रहेको आफ्नो उत्पादन भारत निकासी गर्ने हिमालयन कत्था उद्योग प्रालिका लागि समेत उत्पत्तिको प्रमाणपत्र हेटौंडाबाट नै जारी गर्दै आएको जनाएको छ । राज्यको निर्यात नीति नै उल्टो भएका कारण पनि निर्यात ब्यापारमा ह्रास आएको हो ।






