समाज कता जाँदैछ ?
मुलुकमा ब्याप्त भ्रष्ट्राचारको बिरोध गर्न उत्रिएका युवालाई सरकारले तातो गोली उपहार दियो । एकातिर युवा पुस्तालाई स्वदेशमा कसरी टिकाउने भनने बहस भइरहेको समयमा सरकारको यो कदमले युवापुस्तामा थप निराशा पैदा गराएको छ । सोमबार जेनजी युवाको प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु हुनेको संख्या साँझसम्म १९ पुगेको छ । यो संख्या बढ्न सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।
देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् तिनीहरुमध्य पनि कतिपय घाइते गंभीर अवस्थाका छन् । बिगतका दिनमा हुने गरेका आन्दोलनमा प्रहरीले लाठीचार्ज र पानीको फोहराले आन्दोलनकारी भगाउने कार्य गर्दथ्यो । त्यो भन्दा थप दवाब बढेको खण्डमा टियरग्यासको प्रयोग गर्दथ्यो । त्यसपछि पनि भीड नियन्त्रणमा आएन भने हवाइ फायर गर्ने र यो भन्दा अगाडि जानु पर्ने अवस्था आयो भने आन्दोलनकारीको घुँडा भन्दा मुनी लाग्ने गरी गोली चलाउने गरेको थियो । तर, आजको आन्दालनमा प्रहरीले सीधा टाउको ताकेर गोली प्रहार गरेको अवस्था छ ।
युवाको शान्तिपूर्ण आन्दोलन भड्काउन मलजल गर्ने पक्ष कुन थियो त्यो विषयमा खासै चासो देखाइएन वा जरुरी ठानिएन । सीधा आन्दोलनकारीको टाउको र छातीमा तातो गोली ठोक्ने आदेश कसले र किन दियो ? यो अराजकता कहाँबाट सुरु भयो ? युवाले देश सुधारगर्न खोज्ने विषय बेठीक पक्कै थिएन । भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चारजना पत्रकार घाइते भएको र थाहाखबरको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा र भत्र्सना गरेको छ । साँझ प्रदर्शनकारीले थाहाखबरको कार्यालय माइतीघर पारीबाट ढुंगा हान्दा आधादर्जन झ्यालका सिसा फुटेका छन् ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी महासंघले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन सरकारसमक्ष माग राखेकामा सरकारले महासंघलगायत सरोकारवाला पक्षको आवाज नसुनेका कारण पछिल्लो परिस्थिति निर्माण हुन पुगेको उल्लेख गरेको छ । घाइते चारजना पत्रकारको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नयाँबानेश्वरमा सोमवार भएको प्रदर्शनका क्रममा निषेधितक्षेत्र तोड्दै आन्दोलनकारी संसद भवन प्रवेशगर्न खोजेपछि प्रहरीले अत्याधिक बल प्रयोग गरी गोली चलाएको मानवअधिकार आयोगले जनाएको छ । पत्रकारसहित आन्दोलनकारीलाई गोली लागेको थियो ।
प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । पत्रकारका साथै ३४७ आन्दोलनकारी र ३८ जना प्रहरी घाइते भएका छन् । महासंघले आन्दोलनको क्रममा ज्यान गुमाउने प्रर्दशनकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र आन्दोलनलाई हिंस्रक बन्न नदिन महासंघले सरकारसँग माग गरेको छ ।
युवा प्रदर्शनलाई लक्षित गरी हेटौंडाको सुरक्षा व्यवस्था कडा बनाइएको कारण हेटौंडामा भने शान्तिपूर्ण देखियो । जेनजी युवा आन्दोलनका कारण नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा हेटौंडा आउने कार्यक्रम स्थगित भएको छ । १ सय १२ औं वीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर–१ ‘ख’ ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा आज मंगलबार हेटौंडा आउने कार्यक्रम तय भएको थियो । विशेष कारण भन्दै कार्यक्रम स्थगित गरिएको छ ।




