तेस्रोचरणमा ३५ खेलाडी छनोट

साझाकुरा
२०८२ आश्विन ६, सोमबार ११:४२

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकाले पुरुष फुटबल टिम तयार पार्न तेस्रोचरणमा ३५ जना खेलाडी छनोट गरेको छ । आइतबार ३५ जना खेलाडीको नामावली सार्वजनिक गर्दै पालिकाले प्रशिक्षणमा सहभागी हुन भनेको हो । शुक्रबारबाट आइतबारसम्म सहिद स्मृति रंगशालामा वडा नम्बर १ देखि ९ सम्मका १५ वर्षदेखि २१ सम्ममा खेलाडी छनोट सुरु गरिएको थियो । ३५ जना खेलाडीलाई प्रशिक्षणमा उपस्थित हुन भनिएको छ । असोज ६ गतेदेखि ८ गतेसम्म सहिद स्मृति रंगशालामा प्रशिक्षण हुने पालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । फुटबल प्रशिक्षक मेघराज केसीको नेतृत्वमा खेलाडी छनोट गरिएको हो ।

खेलाडी छनोटको पहिलो दिन ९० जनाभन्दा बढी खेलाडी सहभागी थिए । आइतबारको खेलाडी छनोट कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती खेलकुद विकास समिति अध्यक्ष रहरसिं थिङ, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठउपाध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा र सदस्य आकाश लोप्चन लगायतको उपस्थिति थियो ।

आफ्नै लगानीमा रंगशाला तयार पारिसकेको बागमतीले व्यावसायीक रुपमा खेलाडी उत्पादन गर्न एकेडेमी पनि सञ्चालन गर्दैछ । बागमती गाउँपालिकाले खेलकुदमा प्राथमिकता राख्दै आइरहेको छ । केही समयअघि बागमती गाउँपालिका राष्ट्रिय खेलकुद विकास परिषद्को ६२ औं वार्षिकोत्सबमा देशभरकै उत्कृष्ट स्थानीय तहको रुपमा
पुरस्कृत भएको थियो । बागमती गाउँपालिकाले अब आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकपको तयारी पनि थाल्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*