अनलाइन बाल सुरक्षाः नेपाल र विश्वका लागि चुनौती
विश्व अहिले डिजिटल युगमा तीव्र गतिमा अघि बढिरहेको छ । इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल एप र अनलाइन गेमले जीवनका हरेक क्षेत्रलाई सरल र सहज बनाएको छ । तर यससँगै बालबालिकालाई अनलाइन माध्यमबाट हुने शोषण, दुव्र्यवहार, ठगी, मानसिक दबाब र अन्य खतराबाट जोगाउने चुनौती विश्वव्यापी रूपमा देखा परेको छ । अनलाइन बाल सुरक्षा अब केवल नेपालको मात्र समस्या होइन, यो सबै देशमा देखिने साझा चुनौती बनिसकेको छ ।
सन् २०२० पछि विश्वव्यापी रूपमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढेको छ । यूनिसेफ र इन्टरपोलका रिपोर्ट अनुसार, विश्वका करिब एक तिहाई इन्टरनेट प्रयोगकर्ता बालबालिका हुन् । तर यिनै बालबालिका विभिन्न अनलाइन जोखिममा परिरहेका छन्, जसमा मुख्य छन्ः online sexual exploitation and abuse, cyber bullying/harassment, child trafficking through digital platforms, exposure to harmful content जस्तै pornography, violence, hate speech, / privacy violation तथा personal data misuse ।
अनलाइन बाल सुरक्षा समस्या बढ्दै गएको मुख्य कारणहरूमा प्रविधिको तीव्र विकास, स्मार्टफोन र इन्टरनेट पहुँचको सहजता, सामाजिक सञ्जाल र अनलाइन गेमको अत्यधिक प्रयोग, अभिभावकको सीमित निगरानी, डिजिटल साक्षरताको कमी, र बालबालिकाको अनलाइन जानकारीको असावधानी प्रमुख छन् । प्रविधि सहज भए पनि अभिभावक र शिक्षकहरूले यसका जोखिमबारे पर्याप्त जानकारी नपाउँदा बालबालिकाले सजिलै जोखिममा पर्छन् । अपराधीहरूले पनि प्रविधिको प्रयोग गरेर बालबालिकासँग सम्पर्क गर्न, विश्वास जित्न, र शोषण गर्न नयाँ तरिका अपनाएका छन् ।
नेपालमा इन्टरनेट पहुँच तीव्र गतिमा बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, अहिले देशको झण्डै ९५% जनसंख्या कुनै न कुनै रूपमा इन्टरनेट प्रयोग गर्छ । बालबालिकाहरू स्मार्टफोन, ट्याबलेट, कम्प्युटरमार्फत सामाजिक सञ्जाल, गेम र भिडियो प्लेटफर्महरूमा सक्रिय छन् । तर अभिभावकको निगरानी र डिजिटल साक्षरता नहुँदा उनीहरू अनलाइन शोषण, ठगी, र दुरुपयोगको शिकार भइरहेका छन् । नेपालमा देखिएका प्रमुख समस्या यस प्रकार छन्ः अपराधीहरूले नक्कली प्रोफाइल बनाएर बालबालिकासँग सम्पर्क गर्छन् र उनीहरूको विश्वास जितेर शोषण गर्छन् । केही वर्षयता बालबालिकाको अश्लील तस्बिर वा भिडियो सिर्जना र सेयर हुने घटना बढेका छन् । सामाजिक सञ्जालमा साथीहरूले वा अपरिचितहरूले गरेको धम्की, अपमान वा अफवाहले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ । बालबालिकाले बुझ्न नसकी व्यक्तिगत विवरण जस्तै फोटो, ठेगाना, विद्यालय आदि सेयर गर्छन्, जसको दुरुपयोग सजिलै हुन सक्छ । अत्यधिक अनलाइन खेलले पढाइ, व्यवहार र मानसिक सन्तुलनमा असर पार्ने प्रवृत्ति देखिएको छ ।
केही समयअघि मैले India, Agra मा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिँदा त्यहाँ पनि बालबालिकाको अनलाइन शोषण, दुव्र्यवहार, र व्यक्तिगत डाटा दुरुपयोगका घटनाहरू देखेँ । विभिन्न उमेर समूहका बालबालिकासँग प्रत्यक्ष काम गर्दा, उनीहरूले अनलाइन माध्यमबाट भोगेका दुव्र्यवहार, मानसिक दबाब र व्यक्तिगत जानकारीको दुरुपयोग साझा गरे । त्यस अनुभवले देखायो कि यो समस्या केवल नेपाल वा भारतमा सीमित छैन, अमेरिका, युरोप, एसिया–प्यासिफिक र अन्य क्षेत्रका देशहरूमा पनि अनलाइन बाल शोषणका घटनाहरू अत्यन्तै समान छन् । प्रविधि, इन्टरनेट पहुँच, र सामाजिक सञ्जालको व्यापक प्रयोगले गर्दा बालबालिकाको जोखिम लगभग सबै देशमा समान प्रकारले देखा परेको छ । फरक केवल कानुनी व्यवस्था, प्रहरी तयारी र जागरुकता स्तरमा मात्र देखिन्छ ।
अनलाइन बाल शोषणका खतरा विभिन्न प्रकारका छन् । बालबालिकाहरूले सामना गर्ने प्रमुख खतरा मध्ये sexual exploitation, grooming, cyber bullying, identity theft, online scams, exposure to pornography र हिंसात्मक सामग्री personal data misuse, online radicalization / trafficking छन् । यसका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्छ, उनीहरूमा डर, अनावश्यक तनाव, आत्मविश्वास कमी, आक्रोश, र सामाजिक अलगाव जस्ता समस्याहरू उत्पन्न हुन्छन् । लामो समयसम्म यस्तो परिस्थितिमा बालबालिकाले शिक्षा र सामाजिक विकासमा पनि नकारात्मक प्रभाव अनुभव गर्न सक्छन् ।
नेपालमा यस विषयमा कानूनी संरचना पनि छ । विद्युतीय कारोबार ऐन, २०६३, बालबालिका ऐन, २०७५, र साइबर अपराध अनुसन्धान विभाग (Cyber Bureau, Nepal Police) जस्ता कानुन र निकायहरूले अनलाइन अपराध नियन्त्रण गर्ने प्रयास गरेका छन् । तर प्रविधिको तीव्र गतिसँगै कानूनी सुधार र व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण छ । बार्षिक रूपमा लाखौं केस दर्ता हुन्छन्, तर न्याय प्रक्रिया प्रायः ढिला र अपूर्ण रहन्छ । यो समस्या केवल साइबर ब्युरो वा प्रहरीको कमजोरी मात्र होइन । यो हामी सबैको जिम्मेवारी हो । जब हामी फुर्सदको समयमा अनधिकृत वा टाइमपास कार्यमा संलग्न हुन्छौं, बालबालिकाको सुरक्षा प्रणाली कमजोर हुन्छ । कानुनी संरचना पर्याप्त बलियो नभएकाले, अनलाइन अपराध अनुसन्धान र कार्यान्वयनमा कठिनाइ आउँछ ।
डिजिटल युगले बालबालिकालाई अनगिन्ती अवसर दिएको छ, तर जोखिम पनि बढाएको छ । सामाजिक सञ्जाल, गेम र अनलाइन प्लेटफर्मबाट हुने शोषण विश्वव्यापी चुनौती
बनेको छ ।
मेरो दुई वर्षको अनुभवले देखाएको छ कि बालबालिकालाई अनलाइन माध्यमबाट हुने शोषण र दुव्र्यवहारबाट जोगाउन केवल कानुन वा प्रहरी प्रयास पर्याप्त छैन । सिभिल समाज, एनजीओ, स्कुल, कलेज, स्थानीय तह, अभिभावक, शिक्षक, र नागरिक सबैको साझा प्रयास आवश्यक छ । अभिभावकहरूले बालबालिकाको अनलाइन गतिविधि बुझ्ने, parental control/ privacy setting प्रयोग गर्न सिकाउने, र उनीहरूसँग खुला संवाद कायम गर्ने जिम्मेवारी लिनुपर्छ । विद्यालयहरूले डिजिटल साक्षरता र साइबर सुरक्षा पाठ्यक्रममा समावेश गरेर विद्यार्थीहरूलाई जिम्मेवार डिजिटल नागरिक बन्न सिकाउनुपर्छ । समुदाय र मिडियाले अनलाइन शोषणका घटनाहरू बारे जनचेतना फैलाउनु, पीडित बालबालिकालाई सहयोग र मनोसामाजिक समर्थन उपलब्ध गराउनु आवश्यक छ ।
बालबालिकालाई सुरक्षित राख्न कानूनी कडाइ र डिजिटल निगरानी प्रणाली सुदृढ बनाउने, अन्तर्राष्ट्रिय सहकार्य गर्दै cross-border cybercrime विरुद्ध एकीकृत प्रणाली विकास गर्ने, डिजिटल साक्षरता अभियान विद्यालयदेखि गाउँसम्म सञ्चालन गर्ने, अनलाइन शोषणको सहज उजुरी प्रणाली (toll-free number, cyber helpline) बनाउने, र अभिभावक प्रशिक्षण एवं सचेतना दिने कार्यहरू आवश्यक छन् । यसका लागि केवल सरकारी पहल पर्याप्त छैन । सबैको साझा प्रयास र जागरुकताले मात्र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।
विश्वव्यापी रूपमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने चुनौती गम्भीर छ । नेपालमा पनि यसले बालबालिकाको मानसिक स्वास्थ्य, भविष्य, र सामाजिक संरचनामा प्रतिकूल प्रभाव पारिरहेको छ । तर सही कदम, शिक्षा, जागरुकता, साझा प्रयास र अन्तर्राष्ट्रिय अनुभवको उपयोगले यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ । बालबालिका हाम्रो भविष्य हुन् उनको सुरक्षा सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो ।








