चुरेहिल अस्पतालमा अर्थोपेडिक चिकित्सकमाथि हातपात

साझाकुरा
२०८२ कार्तिक २२, शुक्रबार १५:४१

हेटौंडा- हेटौंडास्थित चुरेहिल अस्पतालमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । उपचार प्रक्रियाबारे विवाद हुँदा अर्थोपेडिक सर्जन डा. सुशील शाहमाथि हातपात भएको हो । बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ निवासी अजित बिडारीले दुर्घटनामा परेकी बिरामीको उपचारका क्रममा विवाद उत्पन्न भएपछि डा. शाहलाई धकेलेर मुक्का प्रहार गरेका थिए । अस्पतालका निर्देशक डा. आकेश प्रजापतिका अनुसार घटनापछि अन्य बिरामीका आफन्त र अस्पतालका कर्मचारीले बिडारीलाई तत्काल नियन्त्रणमा लिएका थिए । अस्पतालमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनका अनुसार डा. शाहलाई सोध्दा उनले घटना सामान्य भएकाले कानुनी प्रक्रिया अघि नबढाउन आग्रह गरेका थिए ।

त्यसपछि बिडारी अस्पतालबाट बाहिरिएका थिए । घटनाबारे लोप्चनले बताएअनुसार हेटौंडानिवासी सुरक्षा कँडेल लडेर कुहिनोमा चोट लागेपछि उपचारका लागि अस्पताल आएकी थिइन् । उनलाई राजु बिडारीले ल्याएका थिए । इमर्जेन्सीमा ड्युटीमा रहेका डा. सचिन दासले केस अर्थोपेडिक सर्जनले हेर्नुपर्ने भन्दै डा.शाहलाई बोलाएका थिए । उपचारको क्रममा स्वास्थ्य बीमा प्रणालीमार्फत् सेवा लिनुपर्ने विषयमा विवाद उत्पन्न भएको थियो । डा.शाहले बिरामीको घाउ सफा गरी टाँका लगाउनुअघि एकदिन अवलोकनका लागि भर्ना हुनुपर्ने सल्लाह दिएका थिए ।

तर, बिरामी पक्षले भर्ना हुन अस्वीकार गर्दै बिरामीलाई मकवानपुर सहकारी अस्पताल लैजान रिफर माग गरेपछि झगडा चर्किएको थियो । त्यसक्रममा अजित बिडारीले चिकित्सकमाथि हातपात गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षकका अनुसार हातपातका क्रममा चिकित्सकलाई गम्भीर चोट नलागेको र घटना सामान्य विवादकै क्रममा भएको प्रारम्भिक निष्कर्ष आएको छ ।

उनले भने, ‘औपचारिक उजुरी नआए पनि अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्नको पहिचान र कानुनी प्रक्रिया दुवै अघि बढाइनेछ ।’चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. शाहमाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न चिकित्सक संघ मकवानपुरले माग गरेको छ । बुधबार साँझ ७ बजेतिर ड्युटीमा रहेका बखत डा. शाहमाथी आक्रमण भएको थियो । नेपाल चिकित्सक संघ, मकवानपुर शाखाले बिहीबार एक प्रेसविज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ । संघका अनुसार, डा. शाह आफ्नो नियमित ड्युटीमा रहेर बिरामीको उपचार तथा परामर्शमा संलग्न रहेका बेला बिरामीका आफन्तले अमानवीय व्यवहार देखाउँदै हातपात गरेका थिए ।

विज्ञप्तिमा घटनाको सीसीटीभी फुटेजमा पनि प्रस्ट प्रमाण देखिएको उल्लेख छ । संघले आक्रमणमा संलग्न व्यक्तिलाई तुरुन्तै कानुनी दायरामा ल्याउन माग गरेको छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)’ बमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाउन संघले सम्बन्धित निकायसँग माग गरेको हो । संघले दोषीमाथि शीघ्र र ठोस कारबाही नभएमा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।

संघका अध्यक्ष डा. हरिबहादुर खड्का र सचिव डा. राजु सेढाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यदि दोषीमाथि शीघ्र र ठोस कारबाही नभएमा नेपाल चिकित्सक संघ, मकवानपुर शाखा बाध्य भएर आन्दोलनका कठोर कार्यक्रम घोषणा गर्ने र आन्दोलनबाट सर्वसाधारणमा पर्न जाने असरको जिम्मेवारी सम्बन्धित निकाय हुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*