हैरान्सको जीत, नवजनजागृति र काँक्रेबिहार बराबरी

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार १२:२४

हेटौंडा- तनँहुको हैरान्स क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत दर्ता गरेको छ । हेटौंडा–६ गौरीटार रंगशालामा शनिबार भएको दोश्रो खेलमा दोलखाको टाइर्गस टिमलाई ५–२ गोलअन्तरले पराजित गर्दै हैरान्सले प्रतियोगिताको ३ अंक जोडेको हो । यसअघि हैरान्स सुर्खेतको काँक्रेबिहार युथ क्लबसँग ३–२ ले पराजित भएको थियो भने टाइगर्सले उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ ले पराजित गरेको थियो । खेलमा हैरान्सको लागि खेलको २५ औं र ३२ औं मिनेटमा रोहन दोङ, ४८ औं मिनेटमा समीरराज थोक, ४९ औं मिनेटमा विश्व लामा र ८८ औं मिनेटमा अनिश महर्जनले गोल गरेका हुन् ।

त्यसैगरी टाइर्गसको तर्फबाट खेलको ६२ औं र ६६ औं मिनेटमा विशेष लामाले गोल गरेका थिए । खेलमा २ गोल गरेका हैरान्सका रोहन दोङ प्लेयर अफ दि म्याच घोषित भए । शनिबार नै भएको बाराको नवजनजागृति क्लब र सुर्खेतको काक्रेबिहार युथ क्लबबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलको ३८ औं मिनेटमा काक्रेबिहारका आशिष चापागाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर, नवजनजागृतिको तर्फबाट पहिलो हाफको इन्जुरी समयमा रञ्जन न्यौपानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् ।

दोश्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र दुबै टोलीले १–१ अंक बाँडे । खेलमा काँक्रेबिहारका सरिन जिशी प्लेयर अफ दि म्याच घोषित भए । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*