एन्फा प्रेसिडेन्ट लिगः लालीगुराँसको दोस्रो जीत, विजय स्पोट्र्स र जनजागृतिको बराबरी
हेटौंडा-कास्कीको लालीगुराँस एसोसिएसनले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा दोस्रो जित निकालेको छ । मंगलबार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा काठमाडौंको चित्लाङ एफसीलाई ३–० गोलले हराउँदै लालीगुराँसले लिगमा दोस्रो जित निकालेको हो ।लालीगुराँसका लागि लछु थापाले ३८ औं, आशिष गुरुङले ५६ औं र सुलेमन थापामगरले ८० औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ दि म्याच लछु घोषित भए । लिगमा ३ खेल खेलेको लालीगुराँसले २ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । लालीगुराँसले गत बुधबार कैलालीको विजय स्पोट्र्ससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा बर्दियाको जनजागृतिलाई ४–० गोलले हराएको थियो । समान ३ खेल खेलेको चित्लाङले भने पहिलो हार बेहोरेको छ ।
चित्लाङले पहिलो खेलमा कात्तिक १९ गते बुधबार धनकुटाको देउराली युथ क्लबलाई ४–१ गोलले हराएको थियो भने शुक्रबार विजय स्पोट्र्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । मंगलबारको दोस्रो खेलमा कैलालीको विजय स्पोट्र्स र बर्दियाको जनजागृतिले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । विजय स्पोट्र्सका लागि अरोन थापाले ४१ औं र जनजागृतिका लागि हरिहर बुढामगरले ९४ औं मिनेटमा गोल गरे । प्लेयर अफ दि म्याच जागृतिका हरिहर घोषित भए ।
लिगमा ४ खेलमा अपराजित यात्रालाई कायम गरेको विजय स्पोट्र्सले ३ खेलमा बराबरी र एक खेलमा मात्र जित निकालेको छ । विजय स्पोट्र्सले बुधबार लालीगुराँससँग गोलरहित बराबरी, शुक्रबार चित्लाङसँग १–१ गोलको बराबरी र आइतबार देउराली युथ क्लबलाई ४–१ गोलले हराएको थियो । लिगमा ३ खेल खेलेको जनजागृतिले जीत निकाल्न सकेको छैन । जनजागृति शुक्रबार देउराली युथ क्लबसँग ३–१ गोलले र आइतबार लालीगुराँससँग ४–० गोलले पराजित भएको थियो ।







