एन्फा प्रेसिडेन्ट कपः नवजागृति, काँक्रेबिहार, लालीगुराँस र चित्लाङ सेमिफाइनलमा

साझाकुरा
२०८२ कार्तिक ३०, शनिबार १४:३९

हेटौंडा- हेटौंडामा जारी एन्फा प्रेसिकेन्ट कपको सेमिफाइनल समीकरण पुरा भएको छ । हेटौंडा–६ गौरीटार रंगशालामा शुक्रबार भएको समूह ‘बि’ का अन्तिम खेलहरुमा बाराको नवजागृति क्लब र सुर्खेतको काँक्रेबिहार क्लब बिजयी भएसंगै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो । शुक्रबारको पहिलो खेलमा तनहुँको हैरान्सलाई ७–२ को फराकिलो गोलअन्तरले पराजित गर्दै समूह बिजेताको रुपमा बारा सेमिफाइनलमा प्रवेश गरेको हो । बाराको लागि सुजन डंगोलले ह्याट्रिक गरे भने बिजय उर्नव, प्रतापसिंह राई, अभिनाश स्याङतान र कृपाकान्त महतोथारुले समान १–१ गोल गरे । त्यसैगरी हैरान्सको तर्फबाट बिजय दोङ र सामुल सुनारले समान एक–एक गोल फर्काए । यो खेलको प्लेयर अफ दि म्याच सुजन डंगोल घोषित भए । त्यसैगरी दोश्रो खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई
५–३ ले पराजित गर्दै सुर्खेतको काँक्रेबिहारले पनि समूहको उपबिजेता बन्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको छ ।

काँक्रेबिहारको लागि अनिश घर्तीक्षेत्रीले ह्याट्रिक गर्दा गणेश पुलामीमगर र आशीष चापागाईले समान एक–एक गोल गरे । गाईघाटको लागि पविन राईले २ र दिवस क्षेष्ठले एक गोल गरेका हुन् । खेलमा काँक्रेबिहारका गणेश पुलामीमगर प्लेयर अफ दि म्याच घोषित भए । यसअघि बिहिबार भएको खेलबाट कास्कीको लालीगुराँस एशोसिएसन क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको सेमिफाइनलका खेल कार्तिक ३० गते आइतबार हुनेछ ।

पहिलो सेमिफाइनल खेल लालीगुराँस र काँक्रेबिहारबीच हुँदा दोश्रो सेमिफाइनल खेल नवजागृति क्लब र चित्लाङबीच हुने आयोजकले जनाएको छ । सेमिफाइनल पुगेका चारवटै टोली यहीवर्ष पुसमा हुने
राष्ट्रिय लिगमा समेत सहभागी हुन पाउने भएको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*