उपाधिको लागि लालीगुराँस र चित्लाङ भिड्दै
हेटौंडा- हेटौंडामा जारी एन्फा प्रेसिकेन्ट कपको उपाधिको लागि कास्कीको लालीगुराँस एसोसियसन क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।हेटौंडा–६ स्थित गौरीटार रंगशालामा आज (मंगलबार) फाइनल खेल हुनेछ । सोमबार मकवानपुरगढी दरबारमा भएको प्रिम्याच कन्फरेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । खेलाडी शारीरिक र मानसिकरुपमा बलियो भएकोले पनि उपाधि जित्ने विश्वास दुबै टोलीले गरेका छन् । विगतका खेलमा भएको कमजोरीलाई सुधार्दै फाइनलमा उत्कृष्ट खेल प्रस्तुत गर्ने दुबै टोलीका प्रशिक्षक र क्याप्टेनले बताएका छन् । यसअघि लिगचरणको खेलमा लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो ।
पराजयको बदला लिँदै उपाधि जित्ने तयारीमा चित्लाङ छ भने पुनः चित्लाङलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पर्ने तयारी लालीगुराँसको रहेको छ । आइतबार भएको सेमिफाइनलका खेलमा बिजयी हुँदै लालीगुराँस र चित्लाङ फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा सुर्खेतको काँक्रेबिहार युथ क्लबलाई लालीगुराँसले २–० को गोलअन्तरले पराजित गरेको हो भने दोश्रो सेमिफाइनल खेलमा बाराको जनजागृति क्लबलाई सडन डेथमा ९–८ गोलअन्तरले पराजित गर्दै चित्लाङले फाइनलमा लालीगुराँस सँगको भिडन्त पक्का गरेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एन्फा फुटबल विकास कार्यक्रमअन्र्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनोट भएका कुल १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।







