लालीगुराँसले बाजी मा¥यो, चित्लाङ उपबिजेता

साझाकुरा
२०८२ मंसिर ४, बुधबार ११:४०

हेटौंडा- कास्कीको लालीगुराँस एसोसियसन क्लबले हेटौंडामा सम्पन्न एन्फा प्रेसिडेन्ट कपको उपाधि जितेको छ ।हेटौंडा–६ स्थित गौरीटार रंगशालामा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको चित्लाङलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै लालीगुराँसले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको हो । खेलमा लालीगुराँसका एन्जल श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । टाइब्रेकरमा लालीगुराँसको तर्फबाट आशिष गुरुङ, सरोज गुरुङ र लच्छु थापाले गोल गरे भने चित्लाङको तर्फबाट शिशिर लेखीले मात्र गोल गरे । जय गुरुङ, गौरव श्रेष्ठ र मदन स्याङतानको प्रहार बिफल भएका थिए ।

उपाधिसँगै लालीगुराँसले नगद १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपबिजेता बनेको चित्लाङले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । विधागततर्फ सबैभन्दा धेरै गोल गर्ने खेलाडी लालीगुँरासका आशिष गुरुङ घोषित भए । उनले प्रतियोगिता भर ४ गोल गरेका थिए । त्यसैगरी सर्वोत्कृष्ट गोलरक्षक लालीगुराँसकै एन्जल श्रेष्ठ घोषित भए । दुबैले जनही नगद २५ हजार राशी पुरस्कार पाए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चित्लाङका शिशिर लेखी घोषित भए । उनले नगद ५० हजार पुरस्कार राशी पाए ।

बाराको नवजागृति क्लबले फेयर प्ले अवार्ड पाएको छ । लिगचरणको खेलमा पनि लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो । बिजेता र उपबिजेता टोलीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले पुरस्कार वितरण गरेका थिए । एन्फा फुटबल विकास कार्यक्रमअन्र्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनोट भएका कुल १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । कार्तिक १९ गते सुरु भएको एन्फा प्रेसिडेन्ट कपबाट लालीगुराँस र चित्लाङ सहित बाराको नवजागृति र सुर्खेतको काँक्रेबिहारले यही पुसमा हुने राष्ट्रिय लिगमा सहभागिता जनाउन पाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*