पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नियमावली पारित
हेटौंडा-मकवानपुरको बागमती गाउँपालिकामा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नियमावली पारित भएको छ ।गाउँपालिकाको स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले विद्यालयस्तरको खेलकुद संरचनालाई संस्थागत र दिगोरुपमा सुदृढ गर्न लक्षित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८२ का लागि प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा सहभागितासम्बन्धी नियमावली पहिलोपटक सर्वसम्मतिले पारित गरेको हो ।
आयोजक समितिका संयोजक रहरसिंह थिङको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, सामाजिक विकास संयोजक कमानसिंह पाख्रिन, खेलकुद विकास समितिका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक, खेलकुद शिक्षक, प्रशिक्षक तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।
बैठकले पुस ११, १२ र १३ गते आयोजना हुने प्रतियोगिताका लागि सम्पूर्ण संरचना, व्यवस्थापन र नियमावलीलाई औपचारिकता दिएको छ । गाउँपालिका अध्यक्ष घलानले नियमावली पारित हुनु बागमती गाउँपालिकाको खेलकुद संरचना सुदृढीकरणतर्फको महत्वपूर्ण मोड रहेको बताउँदै विद्यालयस्तरमै खेल संरचना मजबुत बनाउने दीर्घकालीन दृष्टिकोणलाई यसले संस्थागत आधार प्रदान गरेको उल्लेख गरे । यसले स्थानीय खेल प्रतिभाको पहिचान, विकास र राष्ट्रिय तहसम्मको पहुँच विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौं संशोधन) मा आधारित नियमावली तयार गरिएको छ । प्रतियोगितासँग सम्बन्धित विषयलाई थप स्पष्ट र निर्देशिकामा नसमेटिएका तर, आवश्यक नियमलाई समावेश गरी नियमावली तयारी गरिएको संयोजक थिङले जानकारी दिए । विद्यालयको अनुरोधअनुसार सहभागिता दर्ताका लागि जारी गरिएको २१ दिने समयसीमा अतिरिक्त ३ दिन थप गर्दै मंसिर २९ गतेसम्म फाराम बुझाउने अन्तिम मिति निर्धारित गरिएको छ । आयोजकका अनुसार, यस निर्णयले विद्यालयलाई सहजतापूर्वक खेलाडी दर्ता गर्न सहयोग पुग्नेछ ।
पारित नियमावलीले प्रतियोगितामा समावेश हुने खेल, इभेन्ट संरचना, खेलाडी दर्ता प्रक्रिया, पहिचान सत्यापन प्रणाली, अनुशासन, स्वास्थ्य सुरक्षादेखि उजुरी प्रक्रियासम्मका सबै प्रावधानलाई विस्तृत र स्पष्ट ढंगले परिभाषित गरेको छ । भलिबल, कवड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो, उसु र फुटबल (ऐच्छिक खेल) गरी दर्जनौँ प्रतिस्पर्धात्मक इभेन्ट समावेश गरिएको छ । खेलाडीको पहिचानका लागि जन्मदर्ता वा नागरिकता अनिवार्य गरिएको छ भने गलत विवरण, उमेर जालसाजी वा कागजपत्र मिलावट हुने विद्यालयमाथि कडा कारबाहीको व्यवस्था गरिएको छ ।
पारित नियमावलीसँगै बागमती गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई पहिलोपटक पूर्णरुपमा नियमित, नियन्त्रित र मापदण्ड आधारित खेल शासन प्रणालीअन्तर्गत ल्याएको छ, जसले प्रतियोगिताको गुणस्तर, निष्पक्षता र विश्वसनीयतामा थप सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ । यसले स्थानीय तहमा खेलकुद प्रतियोगितालाई स्पष्ट मार्गदर्शन प्रदान गर्दै प्रतियोगितालाई अझ अनुशासित, पारदर्शी र व्यवस्थित बनाउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ ।







