नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ मा
हेटौंडा-नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघको २ र ३ गते हुने भएको छ । हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालयद्वारा आयोजित तेस्रो खेलकुद महोत्सवअन्तर्गत प्रतियोगिता हुन लागेको हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक एव्म भलिबल प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिए ।वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा खेलकुद महोत्सव हुँदैछ । नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको सहव्यवस्थापकको जिम्मा आधुनिक राष्ट्रिय माविले पाएको छ । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र सहभागी हुन पाउनेछन् भने टिमदर्ता शुल्क ५ सय रुपैयाँ लाग्ने बताइएको छ । यसका साथै आधुनिक राष्ट्रिय माविले विद्यालयस्तरीय वादविवाद प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ । वादविवाद प्रतियोगिता आगामी माघ ११ गते हुनेछ ।
खेलकुद महोत्सवअन्तर्गत ब्रह्मदिक् एकेडेमीको सहव्यवस्थापनमा माघ ४ र ५ गते वडास्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबल प्रतियोगिता र १५ गते कविता प्रतियोगिता हुनेछ । नवोदय शिशुसदनको सहव्यवस्थापनमा माघ ७ र ८ गते नगरस्तरीय बास्केटबल प्रतियोगिता एवम् माघ १३ गते नेपाली हिज्जे प्रतियोगिता हुनेछ । माघ १० गते हेटौंडा क्याम्पसको सहव्यवस्थापनमा माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ ।भुटनदेवी माध्यमिक विद्यालयको सहव्यवस्थापनमा माघ १२ गते हाजिरीजवाफ प्रतियोगिता र माघ २३ र २४ गते नगरस्तरीय क्रिकेट प्रतियोगिता हुनेछ । सत्यम् जेभियर्स माध्यमिक विद्यालयको सहव्यवस्थापनमा पुस २५ गते महिला शिक्षकबिच टग अफ वार प्रतियोगिता र माघ १४ गते निबन्ध लेखन प्रतियोगिता हुनेछ ।
यसैगरी, जिल्लास्तरीय शिक्षक दौड र महिला शिक्षकबीच स्लो स्कुटी प्रतियोगिता माघ १५ गते हुनेछ । फागुन २३ र २४ गते जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेछ । फागुन १ र २ गते वडास्तरीय एथ्लेटिक्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । यसअघि, श्रमिक माध्यमिक विद्यालयको सहव्यवस्थापनमा गत पुस १० गतेदेखि १२ गतेसम्म नगरस्तरीय ७ ‘ए’ साइड छात्र फुटबल प्रतियोगिता र पुस ११ गते वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रतियोगिताका विजेतालाई अगामी फागुन ७ गते पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।







