किसान सूचीकरणको लागि तथ्यांक संकलनको काम सक्ने
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले यसवर्ष किसान सूचीकरणको लागि तथ्यांक संकलनको काम सक्ने लक्ष्य लिएको छ । संघीय सरकारको सशर्त अनुदानमा आधारित भएर तीन वर्षदेखि तथ्यांक संकलन गरिरहेको उपमहानगरपालिकाले किसान सूचीकरण कार्यक्रमको अन्तिमचरणको तथ्यांक संकलन गर्ने कार्य यसवर्ष सम्पन्न गर्ने लक्ष्य लिएको हो । तथ्यांक संकलनका लागि संघीय सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा सशर्त अनुदानमार्फत ३ लाख ४५ हजार बजेट बिनियोजन गरेको छ ।
हेटौंडा उपमहानगरले थप ५ लाख बजेट बिनियोजन गरेको जनाएको छ । आर्थिक वर्ष २०७९÷८० देखि हेटौंडाका किसानको तथ्यांक संकलन सुरु गरी वडा नं ६, १६, १७, १८ का घरधुरीको तथ्यांक संकलन गरिएको किसान सूचीकरण कार्यक्रमकी सम्पर्क व्यक्ति अस्मी पौडेलले जानकारी दिइन् ।
आर्थिक वर्ष २०८१÷८२ मा १२, १३, १४ र ३ वडाका ४ हजार ८ सय ५४ घरधुरीमा तथ्यांक संकलन गरिएको पौडेलले बताइन् । हालसम्म नगरक्षेत्रका ९ हजार ६ सय ४२ घरधुरीमा तथ्यांक संकलन गरिसकिएकोमा यसवर्ष बाँकी रहेका वडा १, ११, १९, ७, ८, ९ र १५ मा तथ्यांक संकलन कार्यक्रम सञ्चालन गरिने पौडेलले जानकारी दिइन् । तथ्यांक संकलनका लागि १० जना गणक नियुक्त गरी चैतदेखि संकलन कार्य सुरु गरिने उपमहानगरले जनाएको छ । गणक नियुक्ति विज्ञापनका लागि प्रक्रियामा रहेको जनाइएको छ ।
किसान सूचीकरण प्र्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०८१ मा उल्लेख भएअनुसार यस कार्यक्रममा संकलित तथ्यांकमा आधारित भएर नगरक्षेत्रका किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । भविष्यमा उपमहानगरले सोही वर्गाीकरण अनुसार किसानका सुविधा, अनुदान लगायत तय गर्ने पनि पौडेलले बताइन् ।







