हेटौंडामा हुन लागेको खेलकुद महोत्सव स्थगित

साझाकुरा
२०८२ माघ २९, बुधबार १२:०२

हेटौंडा- हेटौंडामा फागुन २ गतेदेखि १६ गतेसम्म हुने भनिएको ‘दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव’ स्थगित भएको छ ।प्रेस विज्ञप्ती जारी गरी निर्वाचन अचारसंहिता र सुरक्षा व्यवस्थाका कारण महोत्सव स्थगित गरिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा स्थगित गरिएको महोत्सव अगामी फागुन २९ गतेदेखि चैत्र १४ गतेसम्म सञ्चालन हुनेछ ।

हेटौंडा–१० स्थित टिसिएनचौरमा महोत्सव हुने अध्यक्ष मोक्तानले बताए । महोत्सवबाट संकलन भएको रकमले जेन्जी आन्दोलनक्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद गरिने उनले बताए ।‘मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेलसामग्री खरिदका लागि महोत्सवको आम्दानी खर्च हुनेछ,’ उनले भने, ‘यसका लागि वृहत् खेलकुद कृषि पर्यटन तथा व्यापार महोत्सव २०८२ आयोजनामा जुटेका छौँ ।’ महोत्सव सञ्चालनमा ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

४०० व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको अध्यक्ष मुक्तानले बताए । महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्ला स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन, कराँते प्रतियोगिता, १० किलोमटिर महिला र पुरुष दौड प्रतियोगिता तथा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*