खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीमाथि मुद्दा चलाउने तयारी
हेटौंडा- खाद्यान्नमा मिसावट गर्ने र अखाद्यवस्तु बिक्री गर्ने १९ जना व्यवसायीविरुद्ध खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौंडाले मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ । चालू आर्थिक वर्ष २०८२÷८३ मा गरिएको बजार अनुगमन र संकलित नमुना परीक्षणका क्रममा कैफियत भेटिएका व्यवसायी माथि कानुनी कारबाहीको तयारी गरिएको हो । कार्यालयप्रमुख बिनिता पोखरेलका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत व्यवसायी माथि मुद्दा चलाउन अनुसन्धान भइरहेको छ ।
सरकारी वकिलको कार्यालयसँगको समन्वयमा मुद्दाको प्रक्रिया अघि बढेपनि पछिल्लो समयको जेनजी आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुन बाँकी रहेको उनले जानकारी दिइन् । अबको केही दिनभित्रै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिने कार्यालयको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले ४४ जना व्यापारीविरुद्ध मुद्दा चलाएको थियो ।
अनुगमनका क्रममा स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी मिसावट गर्ने र म्याद गुज्रेका सामान बिक्री गर्नेलाई मुख्य तारो बनाइएको छ । कार्यालयले चालू आवमा २४५ नमुना विश्लेषण गर्दा १६ वटा नमुना प्रतिकूल भेटिएका थिए । प्रतिकूल नमुना देखिएका व्यवसायीलाई कानुनी दायरामा ल्याउने, पुनः जाँच गराई सुधार गर्न लगाउने र सचेत गराउने काम भइरहेको छ ।
उपभोग्य मिति समाप्त भएका, लेभल नभएका र सडेगलेका करिब १ लाख २ हजार रुपैयाँ बराबरका ३११ किलो अखाद्यवस्तु जफत गरी नष्ट गरिएको छ । हालसम्म १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँमा निरीक्षण गरिएको कार्यालयले जनाएको छ । यसै अवधिमा विभिन्न शीर्षकबाट १० लाख ४ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।







