हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश
हेटौंडा-वायु प्रदूषण विश्वभर तीव्ररुपमा बढ्दै गएको र मानवस्वास्थ्यमा दिनप्रतिदिन नकारात्मक असर परिरहेका बेला ‘स्वास्थ्य, पर्यावरण र पर्यटनका लागि साइक्लिङ’ भन्ने नारासहित स्थापना भएको हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश गरेको छ । गैरनाफामूलक सामाजिक संस्थाका रुपमा २०७८ फागुन ९ गते स्थापना भएको सोसाइटीले मेचीदेखि महाकालीसम्म साइकल यात्रामार्फत् आन्तरिक पर्यटन प्रवद्र्धन र जनचेतना फैलाउँदै आएको छ । पाँचौँ वर्षमा प्रवेशको अवसरमा शनिबार बनश्खण्डी मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । सोसाइटीका अध्यक्ष राजु थापामगरको सभाध्यक्षता तथा बनश्खण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिएस निकेतन कक्षा २ मा अध्ययनरत ७ वर्षीय अबिरल आचार्यलाई सबैभन्दा कान्छो सदस्यका रुपमा तथा ७३ वर्षीय मदनलाल मानन्धरलाई ज्येष्ठ सदस्यका रुपमा सम्मान गरिएको थियो । सोसाइटीमा हालसम्म ३४ जनाले आजीवन सदस्यता लिएको र आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । हालसम्म २० जनाले साधारण सदस्यता लिएको बताइएको छ । साधारण सदस्यलाई ब्याज वितरण गरिएको थियो । आजीवन सदस्यता शुल्क हाललाई ३ हजार रुपैयाँ राखिएको सोसाइटीले जनाएको छ ।
कार्यक्रमका अवसरमा सहयोगी संघसंस्था तथा विभिन्न व्यक्तिप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाले आगामी दिनमा पनि साइक्लिङमार्फत स्वास्थ्य सचेतना, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनका गतिविधि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यसहितको ३ जनाको टोली यतिबेला महाकाली–मेची साइकलयात्रा गरिरहेका छन् । सोसाइटीका संस्थापक उपाध्यक्ष भानुभक्त आचार्य र कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठले दुई पटक मेचीमहाकाली साइकलयात्रा गरिसकेका छन् ।







