‘मिड डिभिजन युनिटी रन’ प्रतियोगिता सम्पन्न

साझाकुरा
२०८२ फाल्गुन १०, आईतवार १४:३२

हेटौंडा-२ सय ६३ औँ सेना दिवसको अवसरमा मध्यपृतना हेडक्वार्टर हेटौंडाको आयोजनामा ‘मिड डिभिजन युनिटी रन’ प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडास्थित सुपारेटार ब्यारेकको सामरी खेलमैदानमा आयोजना गरिएको प्रतियोगिता अन्तर्गत १० किलोमिटर महिला–पुरुष दौड, ५ किलोमिटर महिला–पुरुष दौड तथा विद्यालयस्तरीय दौड सञ्चालन गरिएको थियो । १० किलोमिटर दौडमा पुरुषतर्फ गोरखबहादुर गणका भुपेन्द्र सुनार प्रथम, लोकेन्द्र बोहरा दोस्रो र धनु मानन्धर तेस्रो भए । महिलातर्फ गीता विक प्रथम, निमाकुमारी नेपाली दोस्रो र विनिता विक तेस्रो स्थानमा रहे । उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

५ किलोमिटर दौडमा पुरुषतर्फ गोपाल तामाङ प्रथम, सन्तोष नेपाली दोस्रो र अनिल मजाकोटी तेस्रो भए । महिलातर्फ जानकी खाती प्रथम, वसन्ती गोले दोस्रो र वेदना पुन तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयस्तरीय छात्रातर्फ स्वस्तिका थिङ प्रथम, रिता सुनार दोस्रो र नैनावती साह तेस्रो हुँदा छात्रतर्फ सुवास हेम्जङ प्रथम, विवेक श्रेष्ठ दोस्रो र विशाल श्रेष्ठ तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

विजयी धावकहरुलाई बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ तथा सेनाको मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति विष्णुकुमार खड्काले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा ५ किलोमिटर वाकाथन आयोजना गरिएको थियो । बलियो एकता, सुरक्षित राष्ट्रको सन्देश सहित आयोजित वाकाथनमा प्रदेशप्रमुख, मुख्यमन्त्री, जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुख लगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*