कैलाश आधारभूत अस्पतालको मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन

साझाकुरा
२०८२ फाल्गुन २८, बिहीबार १२:२१

हेटौंडा, २७ फागुन÷ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिकास्थित विपि स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री बानियाँले गाउँमै अस्पताल बनेर सेवाप्रवाह गर्नु नै लोकतन्त्रको उपलब्धी रहेको बताएका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अवस्थामा गाउँकै अस्पतालमा रगत, दिशापिसाब जाँचगर्ने, आँखा, हाडजोर्नी, जनरल उपचार गर्न कैलाशबासीमा सहज बनेको उनले उल्लेख गरेका छन् । लोकतन्त्र भ्रमको व्यवस्थान भएको भन्दै मुख्यमन्त्री बानियाँले जनतालाई सत्य र यर्थाथको बीचमा जनप्रतिनिधिले आफ्नो कुरा गर्दै जनताको कुरा सुन्दै काम गरिनुपर्ने बताए ।

भौगोलिक विकटताले दुर्गम रहेको कैलाश गाउँपालिका विस्तारै सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार, सेवा सुविधाले विस्तारै अघि बढिरहेको अवस्था रहेको उनले बताए । उनले कैलाशलाई प्रकृतिले भरिपूर्ण रहेको र भगवान् महादेवले कैलाशमा आराधाना र ध्यान गर्ने स्थलको रुपमा परिचित रहेका पर्यटनको हिसाबले विकास हुँदै गरिरहेको बताए । गाउँपालिकाले सीपमूलक र उद्यमीको आयआर्जनसँग जोडेर लैजानुका साथै शिक्षामा प्रविधिसँग जोडेर अध्ययन गराउनुपर्ने उनले बताए ।

‘यस अस्पताललाई आज जुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालबाट डाक्टरको टोलीले शिविर सञ्चालन गर्नुभएको छ आगामी दिनमा कम्तिमा महिनामा शिविर सञ्चालन गरी सेवाप्रवाह गर्न आग्रह छ’ मुख्यमन्त्री बानियाँले भने । अस्पताललाई चाहिने आवश्यक पर्ने सामग्री प्रदेश सरकारले पनि सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानले गाउँमै सञ्चालित अस्पतालबाटै सेवा लिन आग्रह गरे ।

गाउँघरमा उपचारबाट बञ्चित नहोस् भन्ने हेतुले गाउँघर स्थानीय तहमा गाउँघर क्लिनिक सञ्चालन भएको छ तर, पनि ठुला वा जटिल रोगको उपचार अस्पतालबाटै गरिनुपर्ने बताए । नेपालको संघीय शासन प्रणाली कार्यान्वयन सँगै स्थापित स्थानीय सरकारको महत्वपूर्ण आधारस्तम्भको रुपमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले बताए । ‘हामीले पहिलोपटक नवौं स्थापना दिवस मनाएका हौं । यसअघि कुनै पनि स्थानीय सरकारले स्थापना दिवस नमनाएको अवस्थामा पहिलोपटक हामीले मनाएको छौँ’ अध्यक्ष मुक्तानले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले अस्पतालन सञ्चालनको लागि कार्यालयको तर्फबाट आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाए । गाउँपालिका अध्यक्ष मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लठकुरी, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, नेकपाका कमल अर्याललगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा गाउँपालिका वडाअध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीको उपस्थितीरहेको थियो ।

कार्यक्रममा लोकगायिका प्रतिमा अर्यालले आफ्नो साङ्गीतिक प्रस्तुती दिएकी थिइन् । सोही अवसरमा कर्मचारी र विद्यार्थीले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए । संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैंया लगानीमा स्थापना भएको अस्पतालको मूख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् । अस्पताल आशिष आर्शिवाद स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा निर्माण सम्पन्न भएको थियो । अढाई तल्ले अस्पताल भवनमा १० शैया रहेको छ । अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको छ ।

अस्पतालमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिष्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहेका छन् । तर, हालसम्म स्वास्थ्यचौकीको दरबन्दी मात्रै रहेको स्वास्थ्य शाखाप्रमुख तिलकप्रसाद गौतमले बताए । अस्पतालमा इमरजेन्सी सेवासहित स्त्ररोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजीलगायतका सेवा उपलव्ध हुने जनाइएको छ । अस्पताल स्थापना भएपछि कैलाश गाउँपालिकाको १० वटै वडा र राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ९ का बासिन्दा लाभान्वित हुने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । २१ हजार ८ सय ५६ जनसंख्या रहेको गाउँपालिका मकवानपुर सदरमुकाम हेटौंडाबाट ४५ किलोमिटर टाढा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*