बागमती प्रदेशमा १ संस्थागत सहित २१ विद्यालयको नतिजा शून्य

साझाकुरा
२०८३ जेष्ठ १, शुक्रबार १२:११

हेटौंडा-राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा बागमती प्रदेशका ६ जिल्लाका १ संस्थागतसहित २१ वटा विद्यालयको नतिजा शून्य भएको छ । २० सामुदायिक र १ संस्थागत गरी २१ विद्यालयबाट एकजना परीक्षार्थी पनि उत्तीर्ण हुन सकेका छैनन् । बागमती प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक गोपालप्रसाद कँडेलकाअनुसार एसईई नतिजामा सबैभन्दा धेरै सिन्धुपाल्चोकका ७ वटा विद्यालय निल आएका छन् ।

सिन्धुपाल्चोकबाट संस्थागत र सामुदायिक गरेर १५३ वटा विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका थिए । काभ्रेका ४ वटा विद्यालयबाट एसईईमा सहभागी भएकामध्ये एकजना पनि उत्तीर्ण भएका छैनन् । काभ्रेबाट सामुदायिक र संस्थागतगरेर २९१ विद्यालय एईईमा सहभागी भएका थिए । मकवानपुरका दुई पालिकाका ४ विद्यालय एसईईमा निल आएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ विद्यालयका विद्यार्थी एकजना उत्तीर्ण भएका छैनन् । राक्सिराङ गाउँपालिका–४ स्थित कालिका मावि, राक्सिराङ–६ स्थित राष्ट्रिय मावि र राक्सिराङ–८ स्थित मावि देवीटारको नतिजा शून्य आएको हो । यसैगरी भीमफेदी गाउँपालिका–८ पन्चकन्या माविको नतिजा शुन्य छ । मकवानपुरका संस्थागत र सामुदायिक गरेर १४२ माध्यमिक विद्यालयका ५ हजार ५ सय २७ जना विद्यार्थीले एसईई दिएका थिए । यसैगरी चितवनका एक संस्थागत र ३ सामुदायिक गरी ४ विद्यालयका एकजनाले पनि एसईई उत्तीर्ण गर्न सकेनन् ।

बागमती प्रदेशमा संस्थागत विद्यालय निल भएको चितवनमा मात्र हो । चितवनमा संस्थागत र सामुदायिक गरेर २६७ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । धादिङमा सामुदायिक र संस्थागत गरेर १६१ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये एक माविका एकजना पनि उत्तीर्ण हुन सकेनन् । त्यसैगरी ललितपुरको एउटा माविको नतिजा शून्य आएको छ । ललितपुरबाट संस्थागत र सामुदायिक गरी २८३ माविका विद्यार्थीले परीक्षा दिएका थिए ।काठमाडौं, भक्तपुर, नुवाकोट, रसुवा, सिन्धुली, दोलखा र रामेछाप गरी सात जिल्लाका एउटै विद्यालयको नतिजा शून्य आएको छैन । शिक्षा निर्देशनालयका अनुसार बागमती प्रदेशमा सामुदायिक र संस्थागत गरेर २ हजार ८ सय ८३ विद्यालयका विद्यार्थी एसईईमा सामेल भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*