महालक्ष्मीको मितेरी पुल अन्तिमचरणमा
हेटौंडा- हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी–फाखेल सडकको महालक्ष्मी खोलामा पुल निर्माणकार्य अन्तिमचरणमा पुगेको छ ।पुलको माथिल्लो भागमा ढलान र दुबैतर्फको पहुँचमार्ग निर्माण गर्नमात्र बाँकी छ । सबै काम सकेर जेठ अन्तिम सातासम्म पुल संचालनमा ल्याउने तयारी रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुुजन भण्डारीले बताए ।
२०८१ असोज ११ र १२ को बाढीले क्षति पु¥याएको पुल र पहुँचमार्ग निर्माणका लागि बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरले २०८२ असार ६ मा ठेक्का लगाएको थियो । महालक्ष्मी मितेरी पक्की पुल नामाकरण गरिएको पुलको ९२ प्रतिशत काम भइसकेको छ ।
१५ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाई रहेको पुल २०८३ असार ६ सम्म निर्माण सक्ने सम्झौता छ ।पाण्डव–नारायण–सरस्वती जेभी हेटौंडाले पुल निर्माण गर्न ४ करोड २० लाखको लागतमा ठेक्का लिएको पूर्वाधार विकास कार्यालय प्रमुख भण्डारीले बताए । हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने भन्ज्याङसम्मको सडक फराकिलो बनाउने र ग्रेडिङ मिलाउने कार्य सकिए पनि सबै भागमा कालोपत्र भइसकेको छैन ।
महालक्ष्मी खोला क्षेत्रको सडकलाई फराकिलो र नाली बनाउनुको साथै खोलाबाट सडकलाई सुरक्षित राख्न पर्खाल बनाउने कार्य गरिएको छ । गत असोजमा आएको बाढीपहिरोले महालक्ष्मीको क्षेत्रमा आधा किलोमिटर सडक नै बगाएको थियो ।अहिले त्यही क्षेत्रमा खोलाबाट सडकलाई सुरक्षित राख्न पर्खाल लगाउने काम गरिएको छ । कुलेखानीको कलंकीदेखि हुमानेसम्मको साढे १२ किलोमिटर खण्ड दुई लेनको बनाउने र कालोपत्र गर्ने कार्यको ठेक्का टिआर इन्फास्ट्रकचर प्रालिले ४० करोड ७२ लाख रुपैयाँमा लिएको थियो ।







