सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भेला बुटवलमा हुने

साझाकुरा
२०८३ बैशाख ३१, बिहीबार ११:५३

हेटौंडा-राज्य पक्षबाट भइरहेको डोजर आतंक, जबर्जस्ती विस्थापन र उचित व्यवस्थापनबिनाको उठीबासविरुद्ध भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीले आगामी जेठमा राष्ट्रिय भेला गर्ने भएका छन् । नेपालभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीको हकहित र अधिकारका लागि आवाज उठाउने उद्देश्यले जेठ ३ गते रुपन्देहीको बुटवलमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । दशकौंदेखि श्रम र संघर्ष गर्दै अभावकाबीच जीवन बिताइरहेका गरिब तथा उत्पीडित समुदायमाथि भइरहेको अन्यायविरुद्ध र समस्याको दीर्घकालीन समाधानका लागि यो भेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।

भेलामार्फत भूमिहीन सुकुम्बासीको आवास, जग्गाको स्वामित्व र सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यलाई जिम्मेवार बन्न आग्रह गरिने बताइएको छ । देशभर फैलिएको विस्थापनको त्रास र अन्यायविरुद्ध एकीकृत आवाज निर्माण गर्नु नै भेलाको मुख्य उद्देश्य रहेको छ । राष्ट्रिय भेलालाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि आयोजकले विभिन्न उपसमिति गठन गरी कार्यविभाजन गरेको छ । खगेन्द्र पौडेललाई राष्ट्रिय भेला समन्वय संयोजकको जिम्मेवारी दिइएको छ ।

मञ्च तथा हल व्यवस्थापनको जिम्मेवारी राजु शाहीले पाएका छन् भने स्वयंसेवक तथा ¥याली व्यवस्थापनका लागि राजेश थापा, सकिल मिया, सुनिल कनोजे, शिव मल्ल र दुर्गा गुरुङलाई तोकिएको छ । सूचना तथा प्रचारप्रसार संयोजकमा राजकुमार भट्टराई र पूर्णबहादुर विक रहेका छन् । खानेपानी व्यवस्थापनको जिम्मा रिसभ पोखरेललाई दिइएको छ भने टोल संस्था तथा पालिका समन्वयको संयोजकमा ममराज श्रेष्ठ चयन भएका छन् । आर्थिक व्यवस्थापनका लागि ममराज श्रेष्ठ, रोहित साह, विवेक गुवाजु, जीतमान विक र मनिष गुरुङ सम्मिलित समिति गठन गरिएको छ ।

यो अभियानलाई प्रभावकारी र जनमुखी बनाउन सञ्चारकर्मी, मानवअधिकारकर्मी, राजनीतिक दल र नागरिक समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आयोजकले सबै
सरोकारवाला पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*