राष्ट्रपति रनिङशिल्डको उपाधि बागमती गाउँपालिकालाई

साझाकुरा
२०८३ जेष्ठ १, शुक्रबार १२:४९

हेटौंडा- मकवानपुर जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बागमती गाउँपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा प्रतियोगिता भएको हो । बिहीबार सम्पन्न प्रतियोगितामा २५ स्वर्ण, १५ रजत र १२ कास्यसहित बागमती गाउँपालिकाले उपाधि जितेको हो । यस्तै, १६ स्वर्ण, ४ रजत र ४ कास्यसहित बकैया गाउँपालिकाले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । साविक विजेता हेटौंडा उपमहानगरपालिका भने यसवर्ष १५ स्वर्ण, ६ रजत र १० कास्यसहित तेस्रो स्थान हासिल गरेको हो । प्रतियोगितामा सोमबारदेखि बिहीबारसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा राक्सिराङ गाउँपालिकाबाहेक जिल्लाका अन्य ९ वटा स्थानीय तहले सहभागिता जनाएको थियो ।

प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु, दौड र एथ्लेटिक्स खेलहरु भएको हो । प्रतियोगितामा उसुतर्फ हेटौंडा र बागमती गरी दुईवटा पालिकाको टिमले मात्रै सहभागिता जनाएको थियो । बिहीबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा भएको समापन समारोहमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा विशिष्टआतिथि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुङ्बा र जिल्ला खेलकुद कार्यालय प्रमुख वीरेन्द्र ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल खेलाडीलाई क्याम्पमा राखेर प्रदेशस्तरीय प्रतियोगिताका प्रशिक्षण गराइने जिल्ला खेलकुद अध्यक्ष मोक्तानले बताए । प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जेठ १३ गतेदेखि १५ गतेसम्म हुने तय भएको छ । प्रतियोगिता समापनमा जिल्ला खेलकुद विकास समितिले जिल्लाको प्रतिनिधित्व गर्दै भारतमा भएका विभिन्न प्रतियोगितामा सहभागिता जिल्लाका खेलाडी तथा निर्णायकलाई सम्मान गरेको छ । गत जनवरी १० र ११ मा भारतको आसाममा सम्पन्न चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराँते च्यानपियनसीप प्रतियोगितामा मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारीका खेलाडी सीता श्रेष्ठ र अमृत सुनार निर्णायकको भूमिकामा सहभागी भएका थिए ।

प्रतियोगितामा मकवानपुर क्योकुसिन कराँते संघ बालकुमारीका खेलाडी रेश्मा थापा र रिदम थापा १७ वर्ष उमेर समूहमा स्वर्णपदक र ज्योति लुङवा रजतपदक जित्न सफल भएका थिए । ५५ केजी तौलसमूहमा सबिना आले स्वर्ण र शशीप्रसाद विक रजत र ६० केजी तौल समूहमा रोहित थापाले कास्यपदक जितेका थिए । गत मे ४ र ५ तारिखमा भारतको गोरखपुरमा सम्पन्न हक्की गल्र्स फ्रेन्डसीप प्रतियोगितामा मकवानपुर जिल्ला हक्की संघका खेलाडी कृति पुलामी मगर, प्रनिता पुडासैनी र संजिता श्रेष्ठले रजतपदक जित्न सफल भएका थिए । बिहिबार खेलकुद समितिले उनीहरुलाई सम्मानपत्र प्रदान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*