आजबाट खेलकुद महोत्सव सुरु

साझाकुरा
२०८२ फाल्गुन २९, शुक्रबार १३:०५

हेटौंडा- खेलकुद क्षेत्रको विकासका लागि भन्दै आजबाट हेटौंडाको टिसिएनचौरमा हुन लागेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता हुने भएको छ । महोत्सव आयोजनास्थल टिसिएनमै खेलकुदका प्रायः प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, २९ गते नै जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता, चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा सेमिफाइनल खेल्ने २ टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र अन्य विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष मोक्तानले बताए ।

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः नगद १ लाख र ५० हजार तथा सेमिफाइनल पुग्ने टोलीलाई समान १५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार तथा अन्य विधागत उत्कृष्टलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको आयोजक खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । ब्याड्मिन्टन प्रतियोगिता भने हेटौंडा–११ थानाभ¥याङस्थित कभर्ड हलमा आयोजना गरिनेछ । ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दौड, तेक्वान्दो र करातेका विजेतालाई नगद, ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । चैत्र १४ गतेसम्म हुने महोत्सवको तयारीलाई तीव्र पारिएको छ । अहिले महोत्सवस्थलको घेराबारासहित स्टेज, स्टल, खेलमैदान, बालउद्दानलगायत संरचना निर्माणको काम भैरहेको छ । महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेलसामग्री खरिद गर्ने आयोजकको लक्ष्य छ । महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

४ सयवटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य आयोजकको छ । महोत्सवमा दैनिक राष्ट्रियतथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहनेछ । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहितम सम्मान गर्ने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*