भीमफेदीमा निःशुल्क स्वास्थ्यशिविर
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ४ स्थित निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्वर ४ को वडा सिलिङ बजेटको सहयोग र निबुवाटार स्वास्थ्यचौकीको आयोजनामा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । हर्ट फाउन्डेसन मकवानपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोजकुमार श्रेष्ठलगायतको टोलीले बिरामीको परीक्षण गरेको थियो ।शिविरमा २९३ जनाले स्वास्थ्यसेवा लिएका थिए । परीक्षणका क्रममा ५ जनामा मुटुको गम्भीर समस्या देखिएको छ । जसमध्ये एकजनालाई तत्काल शल्यक्रियाका लागि अस्पताल बोलाइएको छ ।महिलाको भीआइए परीक्षण गर्दा ४ जना महिलामा पहिलोचरणको पाठेघरको क्यान्सर लक्षण देखिएको छ । साथै शिविरमा ५४ जनाले दाँतसम्बन्धी उपचार तथा परामर्श प्राप्त गरे ।
कार्यक्रममा वडाध्यक्ष सागर पाण्डेले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्यसेवामा सहज पहुँच पु¥याउन वडाको बजेटमार्फत् यो कार्यक्रम आयोजना गरिएको बताए । उनले रोगको समयमै पहिचान गरी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क जाँच, सुगर, प्रेसर र परामर्श सेवा पाएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।







