बीरु र चेतनलाई ब्याटमिन्टन उपाधि
हेटौंडा- मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आयोजित मकवानपुर जिल्लास्तरीय खुला डबल ब्याटमिन्टन प्रतियोगिताको उपाधि हेटौंडा–५ का बीरु गुरुङ र चेतन विश्वकर्माको जोडीले जितेको छ ।हेटौंडा–११ थानाभ¥याङ स्थित ब्याटमिन्टन एकेडेमीको कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा बीरु–चेतनको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । प्रतियोगितामा हेटौंडा–१० का राम थापामगर र महेश बोहोराको जोडी उपविजेता बनेको छ ।
त्यसैगरी हेटौंडा–५ का अजय बजगाईं र हेटौंडा–११ का नितिन थापाको जोडी तेस्रो भएको छ भने भीमफेदीका भोजराज जोशी र सुमन अर्यालको जोडी सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका गुरुङले नगद २ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे । प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई हेटौंडा–१० स्थित टिसीएनचौरमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेको थिए । महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो, भलिबललगायत खेल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।







