शनिबार र आइतबार बिदादिने सरकारको निर्णय
हेटौंडा-सरकारले सातामा दुईदिन सरकारी बिदादिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुईदिन बिदादिने निर्णय गरेको हो । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ । पेट्रोलियमपदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । निर्णय २३ चैत सोमबारदेखि लागू हुने उनको भनाइ छ । यो निर्णयसँगै अब सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर, शैक्षिक संस्थाको हकमा भने यो समय लागू हुने छैन, अर्थात साबिक समय कायम हुनेछ । पेट्रोलियमपदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ ।
बैठकले यस्तो रुपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र इन्धन खपत कमगर्ने उद्देश्यले यो निर्णय गरेको प्रवक्ता पोखरेलले बताए । हाल पुराना इन्धनयुक्त सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा सवारी धनीले समस्या भोग्दै आएका थिए । सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कमखर्चमा वातावरणमैत्री बनाउन सकिनेछ । प्रवक्ता पोखरेलले भने, ‘डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ । यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत) को खपत बढाउन मद्दत गर्नेछ ।’
यसअघि ‘असफल’ भएको थियो
सातामा दुईदिन बिदादिने निर्णय
सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले सातामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, यो निर्णय अहिले नयाँजस्तो लागेपनि विगतमा प्रयोगमा ल्याएर असफल भएको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि नै लागू हुनेगरी शनिबार र आइतबार दुईदिन सार्वजनिक बिदादिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न यो कदम चालिएको हो ।
नयाँ व्यवस्थाअनुसार सरकारी कार्यालयहरु अब बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछन् । यद्यपि, शैक्षिक संस्थाको हकमा भने यो कार्यालय समय लागू नहुने मन्त्री पोखरेलले स्पष्ट पारे । यसअघि विभिन्न समयमा यस्तो प्रयास गरिए पनि पूर्णतयारीको अभाव र सेवाप्रवाहमा समस्या देखिएपछि सरकार पुरानै अवस्थामा फर्किन बाध्य भएको थियो । सर्वप्रथम २०४७ सालमा अदालतमा साताको दुईदिन बिदा दिने चलन अभ्यास गरिएको थियो । २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च कटौती र प्रशासनिक सहजताका लागि दुईदिने बिदाको सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा २०५६ सालमा काठमाडौँ उपत्यकामा साताको दुईदिन बिदादिन सुरु गरियो तर, त्यो लामो समय टिक्न सकेन र असफल सावित भयो ।
पछिल्लो समय २०७७ मङ्सिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको समितिले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दुईदिने बिदाको सिफारिस गरेको थियो । त्यसपछि २०७९ सालमा पनि केही समय परीक्षण गरिए पनि अन्ततः सरकार एकदिने बिदाकै निर्णयमा फर्किएको थियो । नेपालमा कार्यालय समय र बिदाको सुरुवात राणाकाल देखि भएको पाइन्छ । सर्वप्रथम देवशमशेरले बिहान १० देखि ५ बजेसम्मको कार्यालय समय तोकेका थिए । पछि भीमशमशेरले यसलाई १० देखि ४ बजेसम्म झारेका थिए । देवशमशेरकै पालादेखि शनिबार बिदादिने चलन सुरु भएकोमा भीमशमशेरले शुक्रबार आधादिन र शनिबार पूर्णबिदाको व्यवस्थालाई संस्थागत गरेका थिए ।
पद्मशमशेरले मौसम अनुसार (कात्तिकदेखि माघसम्म १०–४ र फागुनदेखि कात्तिकसम्म १०–५) कार्यालय समय तोक्ने प्रचलन चलाएका थिए । विगतमा पटक–पटक असफल भएको यो प्रयोगलाई बालेन शाह नेतृत्वको सरकारले इन्धन संकट र आर्थिक दबाबकाबीच कार्यान्वयनमा ल्याएपछि कत्तिको प्रभावकारीरुपमा अगाडि बढाउन सक्छ ? यो विषयमा सामाजिक संजालमा ब्यापक बहस भइरहेको छ ।







