सेनामा भर्ना प्रक्रिया व्यवस्थित बनाउन कार्यशाला

साझाकुरा
२०८२ चैत्र २३, सोमबार १०:२९

हेटौंडा-नेपाली सेनामा भर्ना प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी तथा समयसापेक्ष बनाउने उद्देश्यले भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले हेटौंडामा एकदिने कार्यशाला (वर्कशप)गरेको छ । यसअघि इटहरी, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न गरिसकेको निर्देशनालयले आइतबार मध्यपृतना मुख्यालय, हेटौंडामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मध्यपृतना मुख्यालय हेटौंडाका पृतनापति विष्णुकुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यशालामा नेपाली सेनाको भर्ना छनोट प्रक्रिया, गुणात्मक परीक्षा प्रणाली तथा समग्र भर्ना व्यवस्थापनबारे प्रस्तुतीकरण गरिएको थियो । निर्देशनालयका निर्देशक सहायकरथी रोजप्रताप राणाले भर्ना प्रक्रियालाई सरल, सहज र विश्वसनीय बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।त्यसैगरी, खुलापदपूर्ति शाखाका प्रमुखसेनानी निरज भण्डारीले भर्ना छनोटका विभिन्न चरणबारे जानकारी गराएका थिए । उनले नेपाली सेनामा प्रवेशका लागि आवश्यक मापदण्ड, प्रक्रिया तथा भर्ना प्रणालीलाई प्रभावकारी बनाउन गरिएका नीतिगत व्यवस्थाबारे प्रकाश पारे ।

प्रमुखसेनानी रवि केसीले गुणात्मक परीक्षा सम्बन्धी प्रस्तूतीकरण राखेका थिए । नेपाली सेनाले देशभरका युवालाई लक्षित गर्दै विभिन्न स्थानमा भर्ना केन्द्र निर्धारण गरेको छ । सेनाले खुला प्रतिस्पर्धा तर्फ ५५ प्रतिशत र समावेशीतर्फ महिला, आदिवासी जनजाति, मधेसी, दलित तथा पिछडिएका क्षेत्रका लागि ४५ प्रतिशत कोटा छुट्याएको छ । वीरगति प्राप्त तथा अशक्त सैनिकका सन्तानका लागि ५ प्रतिशत आरक्षण व्यवस्था गरिएको छ ।

हाल नेपाली सेनाले सैनिक साधारण सेवा, प्राविधिक सेवा, हवाई सेवा, प्राड सेवा तथा अन्य विविध सेवा समूहमा भर्ना खुलाउँदै आएको छ । भर्ना छनोट सम्बन्धी सम्पूर्ण निर्णय निर्देशनालयको समन्वयमा लोकसेवा आयोगका अध्यक्ष सदस्य रहनेगरी, रक्षा मन्त्रालयको सचिव, कार्यरथि, प्रधानसेनापतिले तोकेको विशेषज्ञ अधिकृत भर्ना छनोट निर्देशनालयको निर्देशक सहितको पदपूर्ती समितिले गर्ने व्यवस्था रहेको छ । कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, प्राध्यापक, सञ्चारकर्मी तथा नेपाली सेनाका विभिन्न पदमा कार्यरत अधिकृतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*