फलफूल तथा तरकारी व्यवसायी संघमा सापकोटा
हेटौंडा-नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ बागमती प्रदेशको अध्यक्ष काशीराम सापकोटा सर्वसम्मत चयन भएका छन् ।प्रदेशको प्रथम भेलाबाट सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको सचिवमा छत्रबहादुर थिङ चयन भएका छन् । नवनियुक्त नेतृत्वले प्रदेशभित्रको कृषिबजारलाई व्यवस्थित बनाउन र व्यवसायीका समस्या समाधान गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित समितिको विस्तारित बैठकले केरा व्यवसायमा देखिएका जटिलताका बारेमा गम्भीर छलफल गरेको छ । बैठकले सरकारले केरा आयातमा लगाएको रोक र त्यसका कारण भइरहेको अवैध ढुवानीलाई पूर्णरुपमा नियन्त्रण गर्न माग गर्ने निर्णय गरेको छ ।
वैधरुपमा हुने केरा ढुवानीमा देखिएका कानुनी र व्यावहारिक अड्चनलाई हटाई सहज वातावरण बनाउन सरकारसँग गम्भीरतापूर्वक छलफल गर्ने र रोकिएका प्रक्रिया खुलाउन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरतप्रसाद खतिवडाको प्रमुख आतिथ्यता भेला भएको हो ।







