हेटौंडामा प्रहरीको ‘अपरेसन ड्रप’ अभियान : लागूपदार्थ सेवन गरी सवारी चलाउने १२ जना पक्राउ
हेटौंडा- हेटौंडामा बिचौलिया तथा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले ‘अपरेसन ड्रप’ संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष अभियान ‘अपरेसन ड्रप’ मार्फत् १८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले यात्रुलाई अनावश्यक हैरानी दिने, गैरव्यावसायिक क्रियाकलाप गर्ने, गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरीउपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत चैत २१ र २२ गते हेटौंडाका विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरका विभिन्न वडामा बस्ने १७ जना र रौतहट जिल्ला फतुवा विजयपुर नगरका १ जना रहेका छन् ।
प्रहरीले हेटौंडा–१ का नसिब बर्तौला, फारोक अन्सारी, हेटौंडा–११ का नवराज गुरुङ, बद्रीबहादुर तामाङ, शुभम् थिङ, सुरज श्रेष्ठ, हेटौंडा–१३ का सुगम लोप्चन, रोजेश ओझालगायत रहेका छन् । त्यस्तै हेटौंडा–१२ का सन्तकुमार महर्जन, कमलसिंह भ्लोन, अजय स्याङ्तान, अरुण स्याङतान, सविन थिङ, हेटौंडा–१९ का अर्जुन भ्लोनतामाङ, दिपेश लामा, हेटौंडा–१४ का राहुल तामाङ, हेटौंडा–६ का नविन गौतम र फतुवा विजयपुर–१०, रौतहटका रवि तिमल्सिनालाई पक्राउ गरिएको छ । त्यसैगरी, मकवानपुर प्रहरीले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका १२ जना चालकलाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानअन्तर्गत लागूऔषध सेवनगरी सार्वजनिक सवारीसाधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गको मनहरी गाउँपालिकाअन्तर्गत सडक खण्डमा आकस्मिक चेकजाँच गरेको थियो । ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारी चलाएको पुष्टि भएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीप्रमुख खत्रीले बताए ।लागूऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढ्ने त्यसलाई नियन्त्रण गर्न चेकजाँच गरिएको उनले बताए । सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिइने उनले जानकारी दिए ।







